भालुवाङ ५ बैशाख । लुम्बिनी प्रदेशका ७ वटा बिषयगत समितीका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। लुम्बिनी प्रदेशसभाको सचिवालयमा सभामुख तुलाराम घर्तीले सपथ ग्रहण गराउनु भएको हो । लुम्बिनी प्रदेशका ६ वटा विषयगत समिती र १ विषेशाधिकार समिती गरी ७ वटा समितीमा निर्बिरोध निर्वाचित भएपछि आज बुधबार संसद सचिवालयमा सपथ तथा पदभार गराइएको छ ।
दलहरुका बीच सहमति गरी विषयगत समितीको भागबन्डा गरी सभापति टुङ्गाइएको थियो । जस अनुसार प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा नबलपरासीका सांसद विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा अर्घाखाँचीका सांसद रामजीप्रसाद घिमिरे रहेका छन्। यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी सांसद माया पुन र विशेष अधिकार समितीको सभापतिमा कपिलबस्तुका सांसद गिरीधारीलाल न्यौपाने रहेका छन् । ६ वटा विषयगत समिती भएपनि दलहरुले छलफल गरी विशेष अधिकार समितीको माग भएकाले त्यसको पनि यस पटक देखि नयाँ व्यवस्था गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसैविच सभापतिहरूले सपथ ग्रहण गरेसंगै आजै पदभार ग्रहण समेत गरेका छन्। सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै बिषयगत समितीका सभापतिहरूले अब संसद र सरकारको कामलाई तीब्र गतिमा अगाडि बढाउने गरी काम गर्ने बताउनुभयो । संसदमा सांसदहरूले उठाउनु भएको बिषयहरूमा बिषयगत समितीमा छलफल गरेर कामहरूलाई तीब्रता दिइने समेत बताएका छन् । लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशको विषयगत समितीमा दलहरुबीच भएको सहमति अनुसार एमालेले विषेश अधिकार सहित ३ वटा समिती, प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले २ वटा र माओवादी केन्द्रले २ वटा समितीको नेतृत्व गर्ने सहमतिमा सभापति चयन गरिएको थियो ।
गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितीमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितीको सभापतिको टुंगो भने १७ महिनासम्म लाग्न सकेको थिएन । २०७९ मंसिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिदा पनि मिनी संसदको रुपमा हेरिने विषयगत समितीको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरु विजिनेस बिहिन जस्तै बनेका थिए ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।