तुलसीपुर, १९ फागुन । दाङको घोराहीमा थारु भाषाको बर्तमान अवस्था विषयक ख्याल कार्यक्रम आज सम्पन्न भएको छ । दाङबाट प्रकाशित हुने थारु भाषाको लौव अग्रसान साप्ताहिक पत्रिकाको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मातृभाषा कहिल्यै विर्सन नहुने बताउनुभयो ।
मातृभाषाले व्यक्ति, समुदाय लगायत समग्र देशकोे पहिचान दिने भएकाले जीवन्त राख्नु पर्नेमा जोड दिनुभयो । नेपालमा बसोबास गर्ने विभिन्न समुदायको आ आफ्नै मातृभाषा छ भन्ने कुरा सबै भाषाभाषीहरुले बुझ्नु पर्ने बताउनु भयो । मातृ भाषा जन्म दिने आमाले सिकाएको भाषा भएकाले यसलाई नविर्सन आग्रह गर्नु भयो । थारु समुदायका बालबालिका दोस्रो भाषाबाट पढ्नु पर्ने भएकाले पढाईमा कमजोर हुनुको कारण रहेको समेत उहाँको भनाई थियो । जन्मजातै थारु भाषा अर्थात मातृभाषा सिकेका बालबालिका विद्यालय जाँदा नेपाली वा अङ्ग्रेजी पढ्नु पर्ने भएकाले थारु तथा अन्य मातृभाषी बालबालिकालाई पढाइमा समेत असर पुग्ने गरेको उहाँको भनाई थियो ।
भाषा विर्सिनु भनेको नै आफूलाई विर्सिनु सरह भएको बताउनु भयो । यस्तै अन्य वक्ताहरुले थारु भाषा लोप भइरहेकोमा चिन्ता व्यक्त गर्दै संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, थारु पत्रकार संघ दाङका सल्लाहकार तथा महेन्द्र बहुमुदी क्याम्पस घोराहीका सहायक क्याम्पस प्रमुख कुलवीर चौधरी, साहित्यकार कृष्णराज सर्वहारी, थारु कल्याणकारी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण चौधरी, प्रेस काउन्शिलका सदस्य शरद अधिकारी लगायतले बोल्नु भएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।