तुलसीपुर, ५ माघ । माघको पाचौ दिन अर्थात थारु समुदायमा माघ मनाउने अन्तिम दिन आज पनि थारु समुदायमा माघ मनाउने क्रम जारी छ । घरघरमा जाने र मघौटा गीतमा नाच्ने क्रम आजसम्म रहने गर्दछ । तर पछिल्लो समय युवा पुस्ता मघौटा गीत छोडेर डिजेमा आकर्षित हुदा गाउँ–गाउँमा सुनिने मघौटा भाका, गीत, मघौटा नाचसँगै माघको मौलिकता हराउन थालेको छ । मादल, झ्याली, कस्तार लगायतका बाजा बजाएर लहंगा र सट्की लगाएर नाच्ने चलनमा पछिल्लो कमी आएको पाइएको छ । माघमा थारुहरुको मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु प्रस्तुत गरिन्छ । तर नयाँ पुस्ताका युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु समुदायका अगुवारुहरुले बताउँछन् । तुलसीपुर उपमहानगरपालिका ५ की शुशीला चौैधरीले आजभोलीका युवा पुस्ताले माघको कौलिक गीतहरु नगाएर डिजेमा आकर्षित हुने र डिजे (साउन्ड सिस्टम) बजाएर नाच्ने गरेको बताउनुभयो । यसले गर्दा थारुहरुको मौलिक मघौटा गीत र नाच लोप हुँदै जाने होकी भन्ने चिन्ता रहेको उहाँको भनाइ छ । आजभोलीका नयाँ पुस्ताहरुले मघौटा गीत समेत गाउन नजान्ने र माघमा अन्य समयमा गाइने गीत गाउने गरेको उहाँले बताउनुभयो । मघौटा गीतमा महिला पुरुष तथा छोरीचेलीको वेदना ओतप्रोत भएका गीतहरु गाउन छोेड्दै नयाँनयाँ अन्य गीतहरु गाउने गरेकाले मघौटा गीतको मौलिकता हराउँदै गएको थारु संस्कृतिका जानकार छविलाल कोपिला (थारु)ले बताउनुभयो ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।