तुलसीपुर, १० मंसिर । अत्यन्तै व्यस्त देखिने तुलसीपुर बजारका मुख्य सडकमा पैदलयात्रु हिड्ने छुट्टै बाटो नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सवारी साधन र बजारमा आएका नागरिकहरु एउटै सडकमा हिड्दा दुर्घटनाको जोखिम बढेको हो । बढ्दो सवारी चाप र जनसंख्याको अनुपातमा दशकौँ अघि निर्माण गरिएका सडक संरचनाहरु साँगुरा हुँदै गएपछि दुर्घटनाको सम्भावना अत्याधिक मात्रामा बढेको छ । तुलसीपुरको वीरेन्द्र चोक देखि बाहिनी चोकसम्म मात्र फुटपाथका लागि संरचना बनेपनि अन्य सडकमा भने बनाइएको छैन । यता नागरिकहरुले बजारमा दिनप्रतिदिन भिडभाड बढ्दै गएकाले स्थानीय सरकारले तुलसीपुर बजारका सबै सडक छेउँमा पैदल यात्रु हिड्ने छुट्टै बाटो बनाउनु पर्ने बताएका छन् । अस्त व्यस्त सडकका कारण नागरिकको ज्यान जोखिममा पर्ने अवस्था आएमा राज्यले त्यसको तत्काल विकल्प खोज्नु पर्ने उनिहरुको भनाई छ । बस, ट्रक, जीप, कार, टेक्टर, मोटरसाइकल, र पैदलयात्रु एउटै सडकमा हिड्दा र सडक पार गर्न निकै ग्राहो हुने गरेको पश्चिम दाङको हेकुली निवासी यमुना भण्डारीले बताउनुभयो । यता ट्राफिक कार्यालय तुलसीपुरले अधिकांस सडकमा पैदल यात्रु हिड्ने छुट्टै बाटो नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएको छ ।
तुलसीपुरको ‘क’ लाइनमा यात्रु हिड्नका लागि छुट्टै बाटो बनाए पनि जनचेतनाका कारण खासै प्रयोगमा नआएको ट्राफिक कार्यालय तुलसीपुरका निमित्त प्रमुख डिल्ली आचार्यले बताउनुभयो । ‘तुलसीपुरको मुख्य सडकको दयाँबायाँ हिड्नका लागि बाटो बनाइएको छ । सडक माथि भयो, नागरिक हिड्ने बाटो तल भयो । लेबल मिलेन । जसका कारण जति प्रयोगमा आउनु पर्ने हो त्यति प्रयोगमा आएको देखिदैन । यसका लागि तुलसीपुर उपमहानगरपालिकासंग पनि समन्वय गरिरहेका छौ ।’ निमित्त प्रमुख आचार्यले भन्नुभयो । यता तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले नागरिकलाई आवत जावतमा सहज बनाउन फुटपाथमा बसेका व्यापारी हटाउने गरेको बताउनुभयो । तर फुटपाथका लागि छुट्टै योजना नभएको मेयर खडकाले बताउनुभयो । वसपार्क, घोराही रोड र सीतलपुर रोड बाहेक तुलसीपुरको मुख्य भागका पाँच वटा लाइनमा बजार विस्तार भएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।