निता चौधरी दाङ, २८ असोज । सरकारले उपभोक्ताहरुको सहजताका लागि ल्याएको चाडपर्व लक्षित सुपथ मुल्य पसल दाङको तुलसीपुरमा प्रभावकारी देखिएको छैन । उक्त पसल उपभोक्ताको पायक पर्ने समय र स्थान अनुकुल नहँुदा प्रभावकारी हुन नसकेको हो । सरकारले सहुलियत त दियो तर सबै नागरिकहरुको पायक पर्ने स्थानमा सुपथ मुल्य पसल नहँुदा त्यति प्रभावकारी नभएको पाइको हो । सरकारले सहुलियत पसलमा चामल, दाल, नुन, तेल, चिनी, गेडागुडी लगायत खाद्य सामग्रीहरु विक्री वितरणका लागि ल्याएको भए पनि दाङको तुलसीपुरमा भने चामल मात्रै पाइने गरेको छ । चाडपर्वको समयमा उपभोक्ता निजि क्षेत्रको एकाधिकार हुन नदिन भन्दै हरेक वर्ष सुपथ मुल्य पसल संचालन गर्दै आएको छ तर यसबारे जानकारी नहँुदा किनेर खानुपर्ने बाध्यता रहेका विपन्न वर्गका सर्वसाधारण उपभोक्ताहरु यो सेवा उपयोग गर्न पाएका छैनन् । सुपथ मुल्य पसल सरकारी कार्यालय समयमा मात्रै खुल्ला रहने र उक्त समयमा मात्रै खाद्यान्न खरिद गर्ने सकिने भएकाले सोचे अनुसार प्रभावकारी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले स्वीकार गर्नु भएको छ । २४ सै घण्टा सेवा दिने गरी सुपथ मुल्य पसल खोलिएको हँुदैन तर कार्यालय समयमा आउनुभयो भने हामीले चामल उपलव्ध गराउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे ‘आजभोली दिउँसोको समयमा सबै मान्छे व्यस्त हुन्छन्, कसैलाई फुर्सद हुँदैन, तर सुपथ मुल्य पसल सरकारी कार्यालयको समयमा मात्रै खुल्छ, यो समयमा धेरै जसो मान्छे आप्mनो काममा हुन्छन्, साँझ विहान फुर्सदको समयमा आफूलाई पायक पर्ने नजिकैको व्यापारीसँग खरिद गरिहाल्छन् ।’ त्यस कारण सहुलियत पसलमा आउने उपभोक्ताहरुको संख्या न्यून रहेका प्रमुख सुनाले बताउनुभयो । सहुलियत पसलमा आजभोली दैनिक १०÷१२ जना उपभोक्ताहरु मात्रै आउने गरेको उहाँको भनाइ छ । ‘कसैको आप्mनै घरमा फल्छ, कसैको टाढा पर्छ भाडा धेरै लाग्छ, त्यही भएर आउनुहुँदैन । नजिकमा भएका आउनुहुन्छ ,लैजानुहुन्छ’, उहाँले भन्नुभयो । खाद्यको सुपथ मूल्य पसलमा स्टीम जिरा मसिनो चामल बिक्रीका लागि राखिएकोमा असोज २१ गते आइतबारदेखि शुक्रबार २६ सम्म एक हप्तामा १०९ जना ग्राहकले २७ दशमलव ५० क्वीन्टल चामल खरिद गरेका छन् । यस वर्ष सहुलियत पसल अन्तर्गत १ सय क्वीन्टल चामल विक्री गर्नका लागि कोटा तोकेर आएको कार्यालय प्रमुख सुनारले बताउनुभयो । २१ सय २५ रुपैयाँमा बिक्री गरिरहेको स्टीम जिरा मसिनो चामल अहिले छुटपछि २५ किलोको एक बोरालाई १९ सय ५० रुपैयाँमा पाइने सुनारको भनाइ छ । ‘हामीसँग चामल मात्रै भएकोले चामल मात्रै बेचिरहेका छौँ । गत वर्ष दुई सय क्वीन्टल चामलको कोटा रहेकोमा कोटा अनुसार विक्री हुन सकेन,’ उहाँले भन्नुभयो । गत वर्ष ७९ क्वीन्टल मात्रै बिक्री गर्न सफल भएपछि यस वर्ष समर्थन घटाएर एक सय क्वीन्टल बनाइएको उहाँले बताउनुभयो ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।