तुलसीपुर, ११ असोज । आज विश्व रेबिज विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रेबिज रोकथाम र यस रोग विरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज विरुद्धको दिवसका रुपमा मनाउदै आइएको छ । लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा सेप्टेम्बर २८ लाई रेबिज विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोपको विकास गर्नुभएको थियो । यसरी वर्षेनी रेबिज विरुद्धको दिवस मनाइरहदा खेरी आम नागरिकलाई भने यसबारे जानकारी नभएको पाइएको छ । रेबिज विरुद्धको खोप समेत नागरिकले समयमा पाउन सकेका छैनन् । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा दैनिक जसो कुकुरले टोकका विरामीहरु बढ्दै गएका छन् । तर, अस्पतालमा कुनै समय विरामीले खोप पाउछन् भने कुनै बेला विरामी खोप नपाएर फर्केर जान्छन त केहीले किनेरै भएपनी खोप लगाउनु पर्ने बाध्यता रहेको छ । यसको उदाहरण हुनुहुन्छ तुलसीपुर ३ दमारगाउँका विषाल विश्वकर्मा । उहाको छोरालाई केही दिन अगाडी मात्रै कुकुरले टोकेको थियो । उहाँले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेर छोरालाई पहिलो खोप लगाउनुभयो । त्यसपछी दोस्रो मात्राको खोप पनी लगाइसक्नु भएका उहाँलाई अस्पतालले अन्तिम खोप लगाउनका लागी ११ गते बिहिबारका दिन बोलाएको थियो । उहाँ बिहिबार अस्पताल पुग्नुभयो । तर, अस्पतालले रेबिज विरुद्धको खोप सकिएको भन्दै बाहिरबाट किनेर लगाउन भनेको उहाँ बताउनुहुन्छ । नेपाल सरकारले रेविज विरुद्धको खोप निसुल्क रुपमा उपलब्ध गराउदै आएको छ । तर, त्यही खोप केही दिन अघि निसुल्क लगाएको भएपनी अहिले किनेर लगाउन भनकाले दुःख लागेको उहाको भनाई छ । सरकारले रेबिज विरुद्धको खोप निसुल्क प्रदान गरेको बताएपनी गरिब दुखी जनताले भने आवश्यक परेको समयमा यसबाट लाभ लिन सकिरहेका छैनन् । पहिले अस्पतालले बिहिबार बोलाएकाले त्यही अनुसार आउदाखेरी पनी खोप नपाएको भन्दै उहाले गुनासो समेत गर्नुभएको छ ।
राप्ती प्रादेशिक अस्पतालका एआरभी शाखाकी अहेब मिना वलीले भने खोप लगाउदै गर्दा भर्खरै सकिएको बताउनुभएको छ । दैनिक रुपमा धेरैको संख्यामा विरामीहरु रेविज विरुद्धको खोप लगाउन आउने गरेको उहाले बताउनुभयो । कुकुर लगाएतका जनावरले टोकेको अवस्थामा विरामीलाई तिन पटक सम्म खोप लगाउनुपर्ने उहाको भनाई छ । प्रादेशिक अस्पतालमा जहिले पनी रेबिज विरुद्धको खोप अभाव नै हुने गरेको छ । अस्पतालमा मासिक ३/४ सय भाइल खोप आवश्यक पर्ने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले बताउनुभएको छ । अस्पतालले आवश्यक मात्रामा खोपको माग गरेपनी बुटवलबाट खोप कम पठाउदा समस्या हुने गरेको उहाको भनाई छ । खोप स्टकमा रहदै थप खोप मगाउन सक्नुहुन्न ? भन्ने हाम्रो प्रश्नमा मेडिकल सुपरिटेन्डेन्ट अधिकारीले खोप नसकिदा सम्म मागको लागी सिफारिस गर्न नमिल्ने र एक पटक आएको खोप एक हप्तामै सकिने गरेको बताउनुभयो । एकपटक प्राप्त भएको खोप पुर्णरुपमा विरामीलाई लगाई सकेर त्यसको तत्थ्याङ्क पठाएपछी बुटवलबाट थप खोप आउने गरेको उहाको भनाई छ । खोप ल्याउन पठाई सकेको भन्दै अबको केही दिन अर्थात आइतबार भित्र खोप आइसक्ने उहाको दाबी छ ।
प्रादेशिक अस्पतालमा आर्थीक वर्ष २०७७/०७८ देखी चालु आर्थीक वर्ष २०८०/०८१ को हालसम्म ५ हजार ६ सय ३८ जनाले रेबिज विरुद्धको खोप लगाएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभएको छ । जसअन्र्तगत आर्थीक वर्ष २०७७/०७८ मा कुकुरले टोकेका मात्रै १२ सय २८ जना विरामीले खो लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय २८ जनाले खोप लगाएका छन् । यस्तै आर्थीक वर्ष २०७८/०७९ मा कुकुरले टोकेका मात्रै १७ सय ६७ जनाले खोप लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय ५७ जनाले खोप लगाएको सूचना अधिकारी सुवेदीले बताउनुभचएको छ । त्यसैगरी आर्थीक वर्ष २०७९/०८० मा कुकुरले टोकेका मात्रै १३ सय ६२ जानले खोप लगाएका छन भने अन्य जनावरले टोकेका ३ सय २६ जनाले खोप लगाएका छन् । चालु आर्थीक वर्षको असोज ९ गते सम्म २ सय ९८ जना कुकुरले टोकेका र २८ जना अन्य जनावरले टोकेका गरी जम्मा ३ सय २६ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । रेबिज रोग छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्ने गर्दछ । कुकुरलगाएत जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा सावधानी अपनाउनु पर्ने हुन्छ भने रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु पर्ने हुन्छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।