तुलसीपुर, ३१ भदौ । आज आइतबार थारु समुदायमा अट्वारी पर्व मनाइदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ । महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् । आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनस¥या अर्थात दर खाने चलन रहेको छ । आज अट्वारीको दिन माछामासु बाहेक रोटि, दूध, दही, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरिन्छ । भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ । यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको छ । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिइन्छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।