तुलसीपुर, ५ चैत । दाङको तुलसीपुरमा एक युवामाथि अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–९ निवासी ३५ वर्षीय प्रसाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार आपसी लेनदेनको विवादका कारण तुलसीपुर–६ बरुवागाउँ निवासी ३६ वर्षीय सेर बहादुर ओलीलाई बुधबार दिउँसो करिब १२ बजे कपाल खौरिएर जुत्ताको माला लगाई बजार घुमाइएको थियो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बिकलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका अनुसार ओलीले विदेश (ग्रिस) पठाइदिने भन्दै लिएको रकममध्ये करिब दुई लाख रुपैयाँ फिर्ता नगरेको विषयमा विवाद भएपछि यस्तो घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेनदेनको विषय आफ्नै ठाउँमा भए पनि यसरी कसैमाथि अमानवीय व्यवहार गर्नु कानुनविपरीत भएकाले पक्राउ परेका बिकमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।




