तुलसीपुर, ६ चैत । दाङको तुलसीपुरस्थित गोर्खा माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । कक्षा ११ मा अध्ययनरत छात्रा प्रतिक्षा पुरीमाथि सोही विद्यालयका शिक्षक विष्णु प्रसाद भण्डारीले कुटपिट गरेको पारिवारिक स्रोतले जनाएको छ । पीडित छात्राका अनुसार उहाँ कक्षा कोठामा साथीहरूसँग कुरा गरिरहेको अवस्थामा शिक्षक भण्डारी एक्कासी कक्षामा प्रवेश गरी बिना कुनै पूर्वसूचना ३–४ पटक गालामा थप्पड हान्नुभएको थियो । “म साथीहरूसँग सामान्य कुरा गर्दै बसेको थिएँ, सर आएर एक्कासी गालामा पटक–पटक हान्नुभयो,” उहाँले भन्नुभयो। कुटपिटका कारण आँखा नजिकै चोट लागेको पनि उहाँले बताउनुभयो । घटना आज दिउँसोको समयमा भएको बताउँदै पीडितले आँखा परीक्षण गराइसकेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा शिक्षकविरुद्ध कारबाहीको माग गर्दै निवेदन दर्ता गराएको जानकारी दिनुभयो ।
धेरै विद्यार्थीको उपस्थितिमा आफूलाई कुटपिट गरिएकोले मानसिक रूपमा समेत आघात पुगेको उहाँले उल्लेख गर्नुभयो । यता विद्यालयका प्रिन्सिपल विजय जिएमले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। “शिक्षकले सामान्य रूपमा हातले हानेको भनिए पनि विद्यार्थीमा चोट देखिएको छ,” उहाँले भन्नुभयो । जे भए पनि शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट हुनु गलत काम भएको स्वीकार्दै उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार र शिक्षकलाई सचेत गराइने बताउनुभयो । घटनाले विद्यालयमा अनुशासन कायम गर्ने नाममा हुने शारीरिक दण्डको विषयमा प्रश्न उठाएको छ ।।




