२०८२ चैत्र २० गते शुक्रवार

आज हिमाल–पहाडमा वर्षासहित हिमपात, तराईमा हुरीको चेतावनी

काठमाडौँ,  २० चैत ।  अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया