तुलसीपुर, १३ चैत । दाङको तुलसीपुरमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भर्खरै भाइको काजकिरिया सकेर फर्किएका ३४ बर्षीय गोपाल ओलीले आफ्नै श्रमतीको बिबत्स हत्या गरेका हुन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० स्थायी घर भई अहिले तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा बस्दै आएका ओलीले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ७ बजको समयमा श्रीमान–श्रीमतीबिच आपसमा बिबाद हुदा उनले धारिलो हतियार प्रहार गर्र्दा कमलाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा पुर्याउदा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । घटनापछि आरोपी गोपाल ओलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी वीरगञ्जस्थित वन कार्यालयमा लेखा अधिकृतका रूपमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको छ । प्राप्त जानकारी अनुसार उनका भाइ महेन्द्र ओलीले गत चैत १ गते रुकुम पश्चिमको मुसिकोट–१ स्थित बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए । सोही घटनाको काजकिरिया सकेर दाङ फर्किएका गोपालले यस्तो जघन्य अपराध गरेका हुन् ।
कानुनी दृष्टिले के भन्छ ?
नेपालको प्रचलित मुलुकी अपराध संहिता, २०७४ अनुसार कसैले जानाजानी अर्को व्यक्तिको हत्या गरेमा “कर्तव्य ज्यान” सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइन्छ । यस्तो कसुर प्रमाणित भएमा दोषीलाई जन्मकैद (२० वर्षसम्म कैद) सजाय हुन सक्ने कानुनी व्यवस्था छ । यदि हत्या पूर्वनियोजित, क्रूर वा विशेष परिस्थितिमा गरिएको ठहरिएमा सजाय थप कडा हुन सक्ने कानुनविद्हरू बताउँछन् । घरेलु सम्बन्धभित्रै (पति–पत्नीबीच) भएको हत्या भएकाले यसले झन् गम्भीर कानुनी र सामाजिक आयाम समेट्ने देखिन्छ ।
मानसिक अवस्था र समाजको प्रश्न
भाइको आत्महत्यापछि शोकमा रहेका गोपालको मानसिक अवस्था पनि यस घटनामा एक कारण हुन सक्ने अनुमान गरिए पनि, कानुनले यस्तो अवस्थालाई छुट दिने आधार मान्दैन । मानसिक असन्तुलन प्रमाणित नभएसम्म हत्या जस्तो अपराधमा सजाय अनिवार्य हुने कानुनी अभ्यास छ । यद्यबी प्रहरीले घटानाबारे गम्भिर रुपमा अनुसन्धान भइरहेको र अनुसन्धान पछी मात्रै घटनाको वास्तविक कारण खुल्ने बताएको छ । गोप्य स्रोतका अनुसार ओली परस्त्रीसँग लागेकाले श्रीमतीसँग यसअघि पटकपटक डिभर्स माग्दै आएका थिए । यही बिषयमा बिबाद हुदा यस्तो घटना भएको हुनसक्ने आँकलन गरिएपनी बास्तविक कुरा प्रहरी अनुसन्धानबाट मात्रै खुल्ने छ । यो घटना केवल एउटा आपराधिक घटना मात्र नभई समाजका धेरै तहका कमजोरीहरू उजागर गर्ने उदाहरण पनि बनेको छ । शोक, तनाव र आक्रोशलाई नियन्त्रण गर्न नसक्दा एउटा परिवार नै समाप्त भएको छ । कानुनले दोषीलाई सजाय दिन्छ, तर यस्ता घटनाहरू दोहोरिन नदिन समाज, परिवार र राज्यले मानसिक स्वास्थ्य, पारिवारिक संवाद र सचेतनामा थप गम्भीरता अपनाउन जरुरी देखिन्छ ।।




