काठमाडौं, ६ चैत र लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धुम्बाराहीबाट पक्राउ गरेको छ। उनीमाथि एक नाबालिकालाई आफ्नै घरमा राखेर बालश्रम गराएको र शारीरिक तथा मानसिक यातना दिएको आरोप छ। आरोपित सांसद शर्मा तुलसीपुर निबासी हुन ।
६ वर्षदेखि घरमै ‘कामदार’ बनाइएकी बालिका
घटनाको जड काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी विद्यार्थीहरूले गरेको एक सर्वेक्षणबाट बाहिरिएको हो।
सर्वेक्षणका क्रममा सामुदायिक विद्यालयमा अध्ययनरत ती बालिकाले आफू:
- ६ वर्षदेखि सांसद शर्माको घरमा बस्दै आएको
- दैनिक घरधन्दा (पोछा, खाना पकाउने, बगैंचामा काम) गर्न बाध्य भएको
- हात र पाइपले कुटपिट हुने गरेको
- परिवारसँग भेट्न नपाएको, दशैंमा समेत घर जान नदिएको जस्ता गम्भीर खुलासा गरेकी थिइन्।
गोप्य बयानपछि खुल्यो अत्याचारको तथ्य
इजलासले बालिकासँग गोप्य रूपमा गरेको बयानमा पनि यातना र श्रमशोषण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । बालिकाको अवस्था दयनीय देखिएपछि महानगर प्रहरी, वडा प्रतिनिधि र नेपाल प्रहरी को संयुक्त टोलीले घटनास्थलमै पुगेर मुचुल्का तयार गरी तत्काल उद्धार गरेको थियो। हाल बालिकालाई संरक्षण गृहमा राखिएको छ।




