दाङ, २० चैत्र । खानेपानी तथा सरसफाई अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले नागरिकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । खानेपानी उपभोक्ता महासंघको लुम्बिनी प्रदेश स्तरिय भेलालाई दाङको नारायणपुरमा सम्बोधन गर्दै प्रमुख अथिति श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेको खानेपानीको मौलिक अधिकार कार्यान्वयन गर्न मन्त्रालय, विभाग तथा स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
खानेपानीको हकहित, गुणस्तर र वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै खानेपानीको वितरण प्रक्रिया पारदर्शी, समावेशी र दिगो हुनुपर्नेमा जोड दिनुभयो । ‘खानेपानी आयोजनाहरू सञ्चालन गर्दा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने र उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो, उपभोक्ताले पनि पानीको संरक्षण, सदुपयोग र संरचनाको संरक्षणमा जिम्मेवारी वहन गर्नुपर्छ ।’ निर्देशक श्रेष्ठले भन्नुभयो ।
मन्त्रालय, विभाग र सरोकारवाला निकायहरूबीच सहकार्य गरी खानेपानी सेवा विस्तारलाई प्राथमिकतामा राख्नु पर्ने उहाँले बताउनुभयो । त्यसैगरी राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले खानेपानी माथि विभिन्न नाममा थोपर्दै आएको करका विरुद्ध उपभोक्ता संगठित हुनुको विकल्प नभएको बताउनुभयो । उपभोक्ताहरु संगठित नहुँदा सरकारले खानेपानी माथि करको भारी बोकाउने र अर्को तर्फ स्थानीय तहले खानेपानी संस्थालाई विघटन गरेर जनताको अधिकार खोस्ने प्रयासहरु भइरहेको बताउनुभयो । खानेपानीका अधिकार स्थापित गर्न नगर, जिल्ला र प्रदेश समिति गठन पश्चात खानेपानीको आन्दोलनलाई काठमाण्डौ केन्द्रित गरेर राज्यलाई घुडा टेकाउने अध्यक्ष वलीले चेतावनी दिनुभयो ।
कार्यक्रममा सहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बासुदेव पौडेल, खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख प्रकाशजंग शाह, खानेपानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनीधि पोख्रेल, खानेपानी महासंघका सल्लाहकार चोक प्रसाद धिताल, लेखनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष मुरारी शर्मा, विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष संदिप श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रदेश संयोजक टेक नारायण भुषालको अध्यक्षमा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य नाराययापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुल प्रसाद रजौरे श्रवणले गर्नुभएको थियो । त्यसैगरी धन्यवाद ज्ञापन खानेपानी महासंघका केन्द्रिय उपाध्यक्ष जानकी केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण केन्द्रिय सदस्य दिपक पौडेलले गर्नुभएको थियो ।
भेलाले प्रदेश र जिल्ला महासंघ गठन गर्ने

यसैबीच भेलाले प्रदेश र जिल्ला खानेपानी महासंघ गठन गर्ने तयारी गरेको छ । पहिलो दिन उदघाटन सत्र र उपभोक्ताको क्षेमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको आयोजकले दोस्रो दिन शनिबार समिति गठन गर्ने छ । भेलामा प्रदेशका १२ जिल्लाका ८५ वटा खानेपानी उपभोक्ता संस्था र समितिबाट गरेर ३ सय ५० जनाको सहभागिता रहेको छ ।




