तुलसीपुर, ५ चैत्र । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसले भोलिदेखि सुरु हुने प्रथम राष्ट्रिय अनुसन्धानात्मक गोष्ठिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। क्याम्पसले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत दुई दिने उक्त गोष्ठि सफलतापूर्वक सञ्चालनका लागि आवश्यक सबै तयारी सम्पन्न भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीले गोष्ठिलाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, क्याम्पस प्रमुख गणेश पार्धेले पश्चिम नेपालमै पहिलोपटक राप्ती बबई क्याम्पसमा यस्तो प्रकृतिको अनुसन्धानात्मक गोष्ठि आयोजना हुन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार यस कार्यक्रमले राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्नेछ।
“यो गोष्ठिले मास्टर्स तह पूरा गरेका शिक्षक, पत्रकार तथा व्यवसायीहरूलाई एमफिल र पीएचडी अध्ययनतर्फ प्रेरित गर्नेछ,” क्याम्पस प्रमुख पार्धेले भन्नुभयो, “अध्ययनलाई निरन्तरता दिँदै जाँदा प्राज्ञिक ज्ञानको दायरा पनि विस्तार हुँदै जान्छ।”
अनुसन्धानात्मक गोष्ठिका प्रचार–प्रसार संयोजक आनन्दा खत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मिनराज वली, मूल आयोजक समितिका संयोजक डा. प्रेम योगी, सह–संयोजक सूर्य शर्मा लगायतले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण आयोजक समितिका सदस्य चमन धितालले गर्नुभएको थियो।
गोष्ठिमा विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग आबद्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहने जनाइएको छ। अनुसन्धानमा आधारित ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सरोकारवालासहित २०० भन्दा बढी सहभागी रहने आयोजक समितिका सदस्य भीमार्जुन रेग्मीले जानकारी दिनुभयो। क्याम्पसले गोष्ठिलाई शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिको महत्वपूर्ण थलोका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। गोष्ठि भोलि र पर्सी दुई दिन चल्ने छ ।




