२०८२ चैत्र २० गते शुक्रवार

सकियो राप्ती बाबई क्याम्पसमा आयोजित शैक्षिक सम्मेलन

शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास

तुलसीपुर, ७ चैत्र । दाङको राप्ती बाबई क्याम्पसमा संचालन गरिएको दुईदिने प्रथम राष्ट्रिय अनुसन्धनात्मक गोष्ठि सम्पन्न भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलन अन्तर्गत पहिलो दिन प्लेनरी सत्रमा विभिन्न क्षेत्रका विज्ञहरूले उच्च शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा विचार प्रस्तुत गरेका थिए । मिड–वेस्ट विश्वविद्यालयका प्रोफेसर डा. सी.पी. रिजालले उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तन रणनीतिका विषयमा प्रस्तुति राख्नु भएको थियो भने नीति अनुसन्धान प्रतिष्ठानका डा. निरञ्जन देवकोटाले उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोगबारे आफ्नो धारणा राखेका राख्नु भएको थियो ।

त्यस्तै, महेन्द्र बहुमुखी क्याम्पसका नारायण पन्थीले दिगो ऊर्जा तथा सिंचाइ व्यवस्थापनसम्बन्धी विषयमा र काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. सुरेश गौतमले शहरी क्षेत्रमा शिक्षण प्रक्रियामा देखिएका परिवर्तनका विषयमा प्रस्तुति दिनुभएको थियो । यसैगरी, विभिन्न प्राविधिक सत्रहरूमा व्यवस्थापन, लेखा तथा वित्त, भाषा (नेपाली), मनोविज्ञान, समाजशास्त्र, शिक्षा तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धानपत्रहरू प्रस्तुत गरिएको थियो ।

लेखा र वित्त, सामान्य व्यवस्थापन र सूचना प्रविधि, नेपाली भाषा, मनोविज्ञान, सामाजिक शास्त्र र शिक्षा लगायतका विषयमा सहभागीहरूले आफ्ना अनुसन्धान निष्कर्षहरू प्रस्तुत गरेका थिए । प्रत्येक सहभागीलाई प्रस्तुतीकरणका लागि ६ मिनेट तथा छलफलका लागि २ मिनेटको समय निर्धारण गरिएको थियो ।

प्राविधिक सत्रहरूमा ग्रामीण अर्थतन्त्र, डिजिटल मार्केटिङ, उपभोक्ता व्यवहार, वित्तीय साक्षरता, सामाजिक सञ्जालको प्रभाव, भाषा विकास, शिक्षा प्रणाली तथा सूचना प्रविधिको प्रयोग जस्ता विविध विषयमा अनुसन्धान प्रस्तुत गरिएको थियो । यसले समसामयिक शैक्षिक तथा सामाजिक विषयहरूमा गहन छलफलको वातावरण सिर्जना गरेको थियो ।

दोस्रो दिनको कार्यक्रमअन्तर्गत आयोजना गरिएको कीनोट सत्रमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए। क्यालिफोर्निया स्टेट युनिभर्सिटी, अमेरिका का प्रोफेसर डा. मोहन बहादुर डाँगी, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. कृष्णचन्द्र शर्मा तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रोफेसर डा. सुदनकुमार पौडेलले शिक्षा, अनुसन्धान तथा समसामयिक विषयहरूमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । सम्मेलनले शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको आयोजकले जनाएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षता एवम विज्ञान तथा प्रविधि संकाय त्रिभुवन विश्वविद्यालयकाडीन शंकर खनालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको थियो ।

सो अवसरमा राप्ती बबई क्याम्पस प्रमुख गणेश पार्धे, शैक्षिक व्यक्तीत्वहरु विष्णु प्रसाद पोखरेल, पुर्ण विक्रम डाँगी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, त्यसैगरी सहभागीको तर्फबाट बिमला अधिकारी, तुलसीराम गुप्ता, रबिन दहाल, लगायतले आआफना भनाइ राख्नु भएको थियो ।कार्यक्रमको संचालन प्रथम राष्ट्रिय अनुसन्धात्मक गोष्ठिको मूल आयोजक समितिका सदस्य चमन धितालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सह–संयोजक सुर्य प्रसाद शर्माले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया