२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम, नागरीकको गुनासो व्यापक

चेतन वली । तुलसीपुर, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाको आयोजना तथा थारू पत्रकार संघ दाङको सहजिकरणमा नगरपालिकाको सभाहलमा आज सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सेवाग्राही नागरिकहरूले अलपत्र चारलेन बाटो, प्रादेशिक अस्पताल तुलसीपुरको सेवामा लापर्बाही, मुक्त कम्लहरीको अधिकार सुनिश्चितता, शिक्षा, स्वास्थ्य खानेपानी, फोहोर व्यवस्थापन लगायतका सेवाप्रति गुनासो, प्रश्न र सुझावहरू प्रस्तुत गरेका थिए । यस्तै सेवा सुविधा उपलब्ध गराउँदा भेदभाव गरिएको, प्रभावकारी सेवा प्रदान नगरेको, सूचना प्रवाह व्यवस्थित नभएको तथा नगरपालिकाभित्रका बजारहरूको व्यवस्थापन गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । त्यसैगरी सार्वजनिक सेवामा विभिन्न समस्या झेल्नुपरेको, महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत लक्षित वर्गका लागि प्रभावकारी कार्यक्रम सञ्चालन नभएको लगायतका गुनासो गरेका थिए ।

 यता नगरपालिकाले विकास निर्माण स्वास्थ्य, कृषि, पशु, पूर्वाधारका क्षेत्रमा सञ्चालन भएका कार्यक्रम, प्रदान गरिने सेवा, सुविधाका बारेमा जानकारी गराइएको थियो भने त्यस सम्बन्धमा उठेका प्रश्नहरूमा जवाफदेही वक्ताहरूले प्रष्ट पार्ने कोसिस गरेका थिए । जवाफदेही वक्ताको रुपमा रहेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकास निर्माणमा कामहरूमा एकै पटक फट्को मार्न नसकिने भन्दै कतिपय कामहरू सम्पन्न भइसकेको र केही विकासका कामहरु क्रमिक रुपमा अगाडि बढिरहेको बताउनुभएको थियो । साथै फोरलेन बाटो आफ्नो अधिकार भित्र नपरेर प्रदेश मातहत रहेकाले त्यसका लागी पनि आफूले पहल गरिरहेको बताउनु भएको छ । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पनि प्रदेश मातहत रहेको बताउँदै अस्पतालले आफ्नो निर्देशनलाई अटेर गरेको बताउनु भएको छ । आफूले पटक पटक अस्पताल प्रशासनलाई सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै आइरहेको भएपनि त्यो किसिमले कार्यान्वयनमा आउन नसकेको भन्दै दुखेसो समेत पोख्नुभएको  थियो । समग्रमा सम्पूर्ण सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्दै आफ्ना कमीकमजोरीहरूलाई पनि स्विकारेर विगतको कमजोरीहरू सच्याएर विकास निर्माण तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै सुशासनयुक्त नगरपालिका निर्माणमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यस्तै उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले पनि आफ्नो तर्फबाट सेवाग्राहीप्रतिको गुनासोलाई मेटाउने प्रयास गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गुनासो सँग सम्बन्धित सेवा प्रदायक निकायका कर्मचारीहरूले सेवाग्राही नागरिक स्तरबाट उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा नगरपालिका कार्यालय, वडा कार्यालय तथा पालिका मातहतका विभिन्न कार्यालयबाट सञ्चालित विकास निर्माणका कार्यक्रम, प्रदान गरिने सेवा सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने तथा नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेर हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता समृद्ध तुलसीपुरको अवधारणालाई सफल बनाउने उद्देश्य अनुरुप सार्वजनिक सुनवाई गरिएको नगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण थारू पत्रकार संघ दाङका नविन चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।