
तुलसीपुर १ फागुन । माघ २९ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ ।बैठकमा वर्तमान सुरक्षा परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायत पृतनापतिहरुले प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, कार्यान्वयनको अवस्था, संचालित तालिमहरुको प्रभावकारिता, पृतना पुनर्स्थापना भएपश्चात कमाण्ड कन्ट्रोल र समन्वयको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न कमाण्ड सेनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो ।
समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति प्रभुराम शर्माले यस बैठकले वर्तमान परिस्थितिको साथै आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताउनु भयो । आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिनुभयो ।