तुलसीपुर , २४ असार । तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रका वडाहरुमा जुडिबुटीका बिरुवा रोपण सुरु गरिएको छ । वडा नम्बर ३,४ र १ नम्बर वडाका पहाडी क्षेत्रमा टिमुर,तेजपत्ता,कागतीका बिरुवा रोप्न सुरु गरिएको हो । ती वडाका विपन्न समुदायहरुलाई जडिबुटीका बिरुवा रोप्नका लागि निशुल्करुपमा वितरण गर्न थालिएको पारिवारिक नीजी वनका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले जानकारी दिनुभयो । यो वर्ष मात्रै चार हजार बिरुवा रोप्न थालिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३को प्रतापकोटबाट विरुवा रोपण कार्यक्रम सुरु गरिएको छ । पारिवारिक नीजी वन दाङका अध्यक्ष पदम केसीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि टीकाराम खड्काले पहाडी क्षेत्रमा व्यवसायीकरुपमा फलफूल खेती विस्तारका लागि पालिकाकोतर्फबाट समेत अभियान सुरु गरिने बताउनुभयो । उहाँले पहाडी क्षेत्रमा टिमुर पकेट क्षेत्रकारुपमा अघि बढाइने बताउनुभयो ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको सहकार्य,डिभिजन वन कार्यालय दाङको सहयोग र पारिवारिक नीजि वन दाङको आयोजनामा सुरु भएको हो । कार्यक्रममा पारिवारिक नीजी वनका केन्द्रीय उपाध्यक्ष मेघराज भुसाल, तुलसीपुर सव डिभिजन कार्यालयका प्रमुख कमल पुन, तुलसीपुर उपमहानगरपालिका वन तथा वातावरण शाखाका अधिकृत ओमकान्त भट्टराई लगायतका वक्तहरुले बोल्नुभएको थियो ।





