तुलसीपुर २ बैशाख । ‘प्रधान सेनापति ट्रफि-२०७८’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए ।
समापनको क्रममा प्रधान सेनापति प्रभुराम शर्माले कमाण्डतर्फ प्रथम हुन सफल श्री मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी श्री बाबुराम श्रेष्ठ, बाहिनी अड्डातर्फ प्रथम हुन सफल श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम हुन सफल श्री जगदल गणका गणपति श्री सरोज कुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा प्रधानसेनापति महारथी श्री शर्माले ‘सीओएएस ओपन म्याराथन रन फर फन-२०७८’ प्रतियोगिताको ४२ कि.मि. विधाका विजेता जमदार कृष्ण बस्नेत र १० कि.मि.तर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई “अतिरथी स्वर्गीय निर शम्सेर ज.ब.रा. पुरस्कार” प्रदान गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङ्गतर्फ अमल्दार पुनम रावल, सुटिङ्गतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।
सोही क्रममा, बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोवस्ती कार्य सिपाही सुमन अर्याललाई “महारथी श्री गौरव शम्सेर ज.ब.रा. अजेयबलसम्पन्न ट्रफी” हस्तान्तरण गर्नु भएको थियो ।






