काठमाडौं, कात्तिक २७ – एसिया कप फुटबल छनौट अन्तर्गत मंगलबार फिलिपिन्ससँग हुने खेलको लागि अनिल गुरुङ कप्तानमा छानिए । मंगलबार हुने खेलको लागि भएको प्रिम्याच कन्फ्रेन्समा कप्तान अनिल पनि थिए । यसअघि कप्तानका रुपमा प्रिम्याच कन्फ्रेन्समा आउँदा अनिलको अनुहारमा जुन चमक हुन्थ्यो, सोमबार त्यो चमक देखिएन् ।
कप्तानको रुपमा नेपाली टोलीमा पुनरागमन गर्दा पनि किन निराश भन्ने प्रश्नमा अनिलले भने ‘भोलिदेखि धेरै कुराको मिस गर्नुपर्नेछ, त्यै भएर होला अलिक निरास देखिएको ।’
लामो समयको अन्योलपछि मंगलबार फिलिपिन्ससँगको खेलसँगै कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदैछन् । मंगलबार फिलिपिन्ससँगको ५० औं अन्तर्राष्ट्रिय खेलसँगै नेपाली फुटबलमा सबैका प्यारा खेलाडी अनिलले सन्यास लिने घोषणा गरिसकेका छन् ।
१० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् । मंगलबार फिलिपिन्ससँग हुने खेल अनिलको ५० औं अन्तर्राष्ट्रिय खेल हुनेछ । भारतको सिक्किम लाजोङ क्लवमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मुल्यमा विदेशी क्लवमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।
अनिलको विदाई सुखद होस भनेरै एन्फाले उनलाई टिममा फर्काएर कप्तानको जिम्मेवारी दिएको छ । त्यसैले कप्तानको रुपमा अन्तिम पटक प्रिम्याच कन्फ्रेन्समा देखिएका अनिल सञ्चारकर्मीसँग निकै भावुक भए ।
नयाँ खेलाडीलाई मौका दिन सन्यास
पछिल्लो समयमा निकै राम्रो प्रतिभा भएका युवा खेलाडी आइरहेकाले उनीहरुलाई स्थान दिन आफूले सन्यास लिएको उनले बताए । ‘जुनियरहरुको टिममा सिनियर खेलाडी पनि हुनु त पर्छ तर तिनै जुनियर खेलाडीले पछिल्लो समयमा नेपाली फुटबलमा निकै राम्रो गरिरहेका छन्, त्यसैले पनि उनीहरुलाई स्थान दिनको लागि मैले सन्यासको निधो गरेको हुँ’ अनिलले उज्यालो अनलाइनसँग भने, ‘पछिल्लो समयमा नेपालमा धेरै खेलहरु पनि भएन, कहिले खेल होला र सोचेर बस्नुपर्ने अवस्थाले अलिक निरास पनि थिएँ, धेरैपटक सन्यास लिने कि नलिने भन्नेमा अलमलमा थिएँ र यो नै उत्तम समय हो जस्तो लाग्यो र अहिले निर्णय गरेँ ।’
आफूलाई अझै पनि खेलौं खेलौं भन्ने लागेको उनले सुनाए । लगत्तै उनले भने ‘तर आफूलाई मात्रै लागेर नहुने समय र शरिरले साथ दिनुपर्छ नि ।’ नेपालको राष्ट्रिय टोलीबाट खेल्दा आफूलाई निकै गर्व लागेको अनिलले एन्फा कम्प्लेक्सको मैदानमा बताए । तर जस्तो भएपनि सन्यासको घोषणा हुने समय नजिकिँदै जाँदा दुख पनि लागेको भन्दै अनिलले टाउको निहुराए ।
मंगलबारको अन्तिम खेल जीवनकै एक महत्वपूर्ण क्षण
मंगलबार फिलिपिन्ससँगको खेलले आफ्नो जीवनमा ठूलो महत्व राख्ने र जीवनकै एक कठोर दिन हुने भएकाले आफू भावुक भएको अनिल बताउँछन् । ‘भोलि मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हो, आजसम्म मैले जुन जोशले खेलेँ भोलि पनि म त्यै जोशमा हुनेछु’ अनिलले भने, ‘भोलिको खेलमा मेरा फ्यानहरु पनि आउनुहुन्छ होला, उहाँहरुलाई मैले सम्मान गर्नेछु, जुन फ्यानले गर्दा मलाई अनिल भनेर चिनाउने मौका मिल्यो उहाँहरुका अगाडि भोलिको खेल विशेष बनाउनेछु ।’
आफूलाई नेपाली मिडियाले पनि निकै समर्थन गरेको र मिडियाको केन्द्रमा पर्नुलाई पनि आफूले गर्वको विषयका रुपमा लिएको अनिलको भनाइ छ । दक्षिण एसियाका फुटबलरमै सबैभन्दा धेरैपटक सञ्चार माध्यममा स्थान पाउनेमा आफू नै होला भन्ने उनलाई अनुमान छ । फुटबलमा लागेर नाम र दाम दुवै कमाउन सफल भएका अनिल आफ्नो करियर सफल नै भएको मान्छन् ।
१० नम्बरको जर्सी र फ्यान
‘अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि तपाईंले सबैभन्दा सम्झने कुरा के हुनेछ ?’ पत्रकारको प्रश्नमा अनिल एकैछिन अलमल परे र भने, ‘भोलिदेखि मैले मेरो १० नम्बरको जर्सी र मलाई निकै माया गर्ने फ्यानहरुलाई खुब मिस गर्नेछु’अनिलका उत्तर त्यत्तिमै सकिएको थिएन ‘जसले मैदानको कुनाबाट चिच्याएर हरेक खेलमा अनिल गुरुङ भनेर कराउँथे म सबैलाई मिस गर्नेछु ।’
पत्रकारसँग यतिभन्दा उनको आङ सिरिङ भएको थियो, उनले त्यसलाई पनि लुकाएनन् र भने ‘मेरो आङ मात्र होइन मन पनि सिरिङ भएको छ ।’
अफगानिस्तानसँगको हार अनिलका दुखको क्षण
सन् २०१३ को सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले अफगानिस्तानसँग हारेको क्षणलाई उनले अन्तर्राष्ट्रिय फुटबल करियरमा सबैभन्दा दुखको क्षण मानेका छन् ।
घरेलु मैदानमा भएको त्यो हारलाई आफूले हरेक पल्ट सम्झिरहेको र चुकचुकाइरहेको उनले बताए । ‘त्यो साफ च्याम्पियनसिप हामीले जित्नैपर्ने थियो, घरेलु मैदानमा २५ हजार भन्दा धेरै दर्शकको बिचमा खेल्दा मजा पनि आएको थियो, तर हार्न पुग्यौं, अहिले सम्झँदा पनि निकै दुख लाग्छ’ त्यो बेलाका कप्तानसमेत रहेका अनिलले भने, ‘त्यो खेल जितेको भए हामीले धेरै अवसर पाउँथ्यौ जस्तो लाग्छ ।’
दशरथ रंगशालामा भएको अफगानिस्तानसँगको खेलमा नेपालले ११ औं मिनेटमा गोल खाएको थियो । अफगान रक्षकले नेपाली स्ट्राइकर विमल घर्तीमगरलाई डि बक्समा लडाउँदा पाएको पेनाल्टी नेपाली खेलाडी रोहित चन्दले गोल गर्न सकेनन् । उनको प्रहार अफगान गोलरक्षकले रोकेका थिए ।
८६ औं मिनेटमा रोहितले हानेको पेनाल्टीलाई अफगान किपरले बचाएका थिए । तर रोहितले पेनाल्टी हान्नुअघि नै अफगान खेलाडी डिबक्सभित्र प्रवेश गरेका कारण रेफ्रीले फल लिएर फेरि नेपाललाई पेनाल्टी हान्ने मौका दिए । त्यो पेनाल्टी पनि रोहितले नै हानेका थिए, जसलाई अफगान किपरले बचाए । अफगानिस्तानसँग हारेपछि नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो ।
राष्ट्रिय टोलीबाट सन्यास लिए पनि बाँकी जीवन फुटबलमै
मंगलबार आफूले राष्ट्रिय टोलीबाट सन्यास लिए पनि बाँकी जीवन फुटबलमै बिताउने अनिलले बताए । ‘भोलि मैले राष्ट्रिय टिमबाट मात्रै सन्यास लिन लागेको हुँ, त्यसपछि मैले क्लव फुटबल खेल्नेछु, खेल्नको लागि शरीरले साथ दिन छाड्यो भने कुनै न कुनै माध्यमबाट मैले जाने बुझेका कुरा नयाँ पुस्तालाई सिकाउनेछु’ अनिलले गर्वका साथ भने ।