तुलसीपुर अपहरण काण्डमा पक्राउ परेका ५ जना मध्य ३ जना ज्यान मार्ने उद्योगदेखि डाँका चोरी मुद्दामा संलग्न रहेको पाईएको छ । तुलसीपुरको दमारगाउँबाट दुई युवकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –९ निबासी २३ बर्षका प्रेम डाँगी र तुलसीपुर उपमहानगरपालिका–८ बस्ने बर्ष २१ का कमल विकले दुई वटा ज्यान मार्ने उद्योगको मुद्दामा सजाय भोगिसकेका छन् भने तुलसीपुर उप–महानगरपालिका – ३ बस्ने बर्ष १९ का निशान शाही ठकुरीले डाँका चोरी मुद्दामा सजाय भोगी सकेका छन् ।
त्यसैगरी अपहरण काण्डमा संलग्न रहेर फरारको सूचिमा रहेका तुलसीपुर–८ नयाँवस्ती निबासी विशाल सुनारले पनि सार्वजनिक अपराधको मुद्दामा सजाय भोगिसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
युवाहरुले गएको सोमबार दिउँसो साढे दुई बजे सल्यानको बागचौर नगरपालिका–९ वस्नेवत घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २० बर्षका रमन डाँगी र १९ बर्षका ललित वलाीलाई कुटपिट गरेर अपहरण गरेको प्रहरीले बताएको छ ।
यसरी भएको थियो घटना
करिब साढे दुई बजेको थियो । तुलसीपुर उपमहानगरपालिका–३ दमागरगाउँको जंगल नजिकै दाजु बहिनीले टिकटक बनाउँदै थिए । त्यहि समयमा सोही ठाउँ निबासी बर्ष २१ का निशान शाही ठकुरी र तुलसीपुर–९ बस्ने बर्ष २४ को दुर्गेश शर्मा नम्बर नखुलेको मोटरसाईकलमा सररर आइपुगे ।
मोबाईलमा टिकटक बनाईरहेको समयमा गुण्डाको शैलीमा आएका ठकुरकी र शर्माले सल्यान बागचौर नगरपालिका–९ घर भई हाल तुलसीपुर उप– महनगरपालिका वडा –९ बेलुवामा कोठा भाडामा बस्ने बर्ष १९ को ललित वली र उनको बहिनी मनिषा वली नजिक पुगेर ललितलाई बोलाए ।
तर ललितले अस्वीकार गरेपछि उनलाई जबरजस्ती बाईकको बीचमा राखेर जंगल तर्फ लग्दै गर्दा उनले रमन डाँगीलाई आफु अपहरण परेको कुरा सुनाउन भ्याए ।
लगत्तै वलीसैंग डेरा गरेर बस्ने रमन डाँगीले घटनाको जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरेर घटनास्थल तर्फ लागे । डाँगी घटनास्थल पुगेपछि अपहरित वलीलाई त्यहाँ ल्याएर छोडियो । घटना यतिमा सिमित रहेन । रमनले भाइलाई किन यस्तो गरेको भनेर सोधीखोजी गर्न थाले पछि दुबैजना उनिमाथि जाइलागे र उनैलाई कुटपिट गरेर बाइकको बीचमा राखेर लगे ।
घटनाको जानकारी पाएको प्रहरी टोली पनि घटनास्थल पुगेर पिडितसंग घटनाको जानकारी लिएर अनुसन्धानमा जुट्यो । अपहरित व्यक्तिको खोजीमा लागेको प्रहरीले बेलुकी सवा ६ बजे तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाको पुलको करिब ३ सय मिटर उत्तर तर्फ खेतमा ६ जनाले घेराबन्दी गरेर राखेको अवस्थामा फेला पारेर उद्धार गर्यो ।
कथा जस्तो लाग्ने सोमबारको घटनाको जानकारी यसरी नै गराउँनुभयो ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले । यद्यपी सुरुको घटनामा दुईजना भएपनि युवकलाई नियन्त्रणमा लिएपछि थपिएका चारजनाले रमनलाई कुटपिट मात्र गरेनन् जकेट र चाँदीको सिक्रीसमेत खोसे र फिल्मि शैलीमा चारैतिरबाट घेरेर राखे ।





