सल्यान बाट तीन करोड बढीको खोटो निर्यात

 

बुद्धि पुन,सल्यान ७ भदौँ । सल्यान जिल्लाका विभिन्न सामुदायिक वनबाट बर्षेनी सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ । जिल्लाका बिभिन्न सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, सल्यानका सहायक बन अधिकृत मेघनाथ काफ्लेले जानकारी दिनु भयो । उहाँले अहिले जिल्लाका बिभिन्न ३ सय ४२ वटा सामुदायिक वन बाट खोटो संकलन भैरहेको बताउनु भयो ।

यी सामुदायिक बनहरुले बर्षेनी खोटो बिक्री बाट लाखौँ आम्दानी गर्ने गरेका छन् । खोटो सङ्कलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाईन्छ । यसरी संकलित खोटो बिभिन्न ९ वटा खोटो संकलक कम्पनीले लिने गरेका छन् । खोटो सङ्कलनपछि कार्पेन तेल बनाएर रङ्गमा मिसाउन लगाएतका कार्यमा प्रयोग गर्ने गरिन्छ । यस आर्थिक बर्ष २०७३/०७४ मा सल्यान बाट ३३ लाख ७३ हजार ५२ किलो खोटो जिल्ला बाहिर निर्यात भएको छ । जस बाट ३ करोड २८ लाख ५४ हजार ५ सय ३५ रुपैँया आम्दानी भएको छ ।

यस्तै गत आर्थिक बर्ष २०७२÷०७३ जिल्ला बाट ३० लाख ६७ हजार ५ सय ४३ किलो खोटो निर्यात भएको थियो । जस बाट २ करोड, ८१ लाख, ८ सय ९४ रुपैँया आम्दानी भएको थियो । सहायक बन अधिकृत काफ्लेले यसरी खोटो बिक्री बाट भएको आम्दानी बन समुहको साधारण सभाको निर्णय अनुुसार २५ प्रतिशत बन बिकास कार्यमा खर्च गर्नु पर्ने बताउनु भयो । यस्तै उहाँले ३५ प्रतिशत बन समुह भित्रमा नै गरिबी निबारण कार्यमा खर्च गर्नु पर्ने र बाँकी बिकास निर्माणमा कार्यमा खर्च गर्नु पर्ने बताउनु भयो ।

खोटो संकलन गर्दा बिभिन्न कुराहरुमा पनि ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । उहाँले खोटो संकलन गर्दा सल्लाको फेदमा ठूलो घाउ बनाउदा सल्ला केही बर्षमा नै सुक्ने बताउनु भयो । “खोटो संकलन गरेको बनमा आगलागीको संभाबना पनि बढी हुन्छ,” उहाँले भन्नुभयो –“आगालागी भएमा करोडौँको क्षती हुन्छ ।”

उहाँले आगलागी नियन्त्रणको लागी जिल्ला बन कार्यालयले डढेलो नियन्त्रण कार्यक्रम बर्षेनी सञ्चालन गर्ने गरेको बताउनु भयो । “बिभिन्न बनहरुमा आगलागी नहोस भनेर डढेलो नियन्त्र कार्यक्रम अन्र्तगत ठाउँ ठाँउमा तालिम, गोष्ठी, अन्र्तक्रिया, प्रचारप्रसार लगाएतका काम गरिरहेका छौँ” –उहाँले भन्नु भयो । काफ्लेले डढेलो बाट बन जोगाउनको लागी बन उपभोक्ता समुह पनि सक्रिय हुनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०७४ भाद्र ७ गते बुधवार
प्रतिक्रिया