तुलसीपुर, १६ जेठ । सर्पले टोकेर तुलसीपुरमा एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २५ बर्षका टिकाराम डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । घरमै सुतेको बेला दिउसो ३ बजे कालीडूमिनी सर्पले टोकेको थियो ।
उपचारका लागि संशेरगंज लग्ने क्रममा बाटोमै अचेत भएपछि डाँगीलाई फर्काएर पुनः राप्ती प्रादेशिक अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका डा. दिलीप धितालले जानकारी दिुभयो ।
‘उहाँहरुले उपचारका लागि यहाँ ल्याउँदासम्म जिब्रो लरबराउने, आँखा झिमझिमका लक्षण देखिएको थिएन । लक्षण नदेखिएपछि औषधी चलाउँदा आौषधीले झनै असर गर्नसक्छ । तपाईहरुले के भन्नुहुन्छ भन्नुस भने,’ डा. धितालले भन्नुभयो–‘उहाँहरुले हामी संशेरगंज लैजान्छौ भन्नुभयो । लगेर पनि जानु भयो तर बाटोमा गाह्रो भएपछि पुन ः ल्याउनु भयो । उपचार गर्ने क्रममा उहाँको मृत्यु भयो ।’ यद्यपी बचाउने आशमा आफन्तले झारफुकका लागि मलवारमा लगेको प्रहरीले बताएको छ ।





