तुलसीपुरका कौशल ४३ लाख नगद सहित काठमाण्डौंबाट पक्राउ

काठमाण्डौं, २२ चैत ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहनुभएको छ । तुलसीपुरबाट काठमाडौं जादै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको हो । कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया