आहा रारा गोल्डकप फुटबलको १९ औ संस्करण आजबाट शुरु हुँदै 

काठमाण्डौं, २१ चैत ।आहा रारा गोल्डकप फुटबलको १९ औ संस्करण आजबाट सुरु हुँदैछ ।पोखरा रंगशालामा आयोजना हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।आयोजक र एपीएफबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । त्यसैले आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

जसमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उपाधि जितेको थियो ।प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले दर्शकका लागि टिकट दर समेत राखेको छ । क्वाटरफाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि ३ सय टिकट दर राखिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया