लुम्बिनी प्रदेशमा ८८४ बलात्कारका घटना

रुपन्देही पहिलो, दाङ दोस्रो

तुलसीपुर, २२ मंसीर । गएको कार्तिक ७ गते तुलसीपुरकी एक महिला दिनको मध्यान्ह बाह्रबजे आफ्नै घरमा बसीरहेका बेला ५७ बर्षका आफन्तबाटै बालात्कृत भइन् । उनलाई फुपाजु नाता पर्नेले नै बलात्कार गरेका थिए ।

इजतजाने डरले पिडितका घरपरिवारले मनमा असैह्य पिडा हुँदाहुँदै पनि गाउँमै आर्थिक लेनदेनमै चित्त बुझाउने निर्णय गरे । गलत काम गरेका आफन्त भनिने ती पुरुषलाई जोगाउन उनका परिवार, गाउँका ठूलाठालु पनि लागे । अन्तत्वगत्वा प्रहरीमा उजुरी नगर्ने र उनले गरेको कूकर्मबाट जोगाउन केहि पैसा दिने छलफलमा बसेका भलाद्मीले निर्णय गरे ।

तर आज–आज, भोली–भोली भन्दाभन्दै महिना दिन कट्यो पैसा आउने छाँटकाँट देखिएन् । पिडित परिवारले निरन्तर ताकेता गर्नथालेपछि आरोपी घर छाडेर भागे । पैसा नपाउने लगभग निश्चित जसतै भएपछि पिडित महिलाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर मंसीर १७ गते आफु बालात्कारमा परेको भन्दै उजुरी दिइन् ।

यो त प्रतिनीधि मुलक घटना मात्रै हो । यस्ता कयौं जघन्य खालका घटनाहरु गाउँ–समाजमा इजतजाने डरले, डरत्रास र गरिबीले आर्थिक लेनदेनमै मिलाउने गरिन्छ । यद्यपी कतिपय घटना बनीबनाउ र आर्थिकलाभ लिने उद्देश्यले नभएका पनि होइनन् । तर यस्ता घटना नगन्य मात्रामा भएको पाइन्छ ।

यति हुँदाहुदै पनि लुम्बिनी प्रदेशका १२ जिल्लामा ८ सय ८४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भइरहेका बेला प्रदेश प्रहरीले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रहरीको त्रिबर्षीय तथ्याङ्क (आव२०७५÷०७६, २०७६÷०७७ र २०७७÷०७८ मा) अनुसार बलात्कार घटना हुने जिल्लाको अग्रक्तीमा रुपन्देही जिल्ला छ । जहाँ १६५ वटा बलात्कारका घटना भएको भन्दै न्यायका लागि प्रहरीमा दर्ता भएका छन् । यस पछि दोस्रोमा दाङ परेको छ । जहाँ १४७ घटना प्रहरीमा दर्ता भएका छन् भने तेस्रोमा बाँके परेको छ । यो जिल्लमा १४० वटा बलात्कारका घटना दर्ता भएका छन् । चालु आर्थिक बर्ष २०७७÷०७८ को ७ महिनामा १२ जिल्ला मध्य रुपन्देही ३१, दाङमा २९, बाँकेमा २१, कपिलवस्तुमा १८, नवलपरासीमा ११, पाल्पामा ११, बर्दियामा १०, प्युठानमा ७, रोल्पामा ५, मुल्मीमा ९, रुकुम पूर्वमा २ र अर्घखाँचीमा २ वटा घटना दर्ता भएका छन । मा भने पहिलोमा छ । त्यसैगरी बलात्कार प्रयासका घटना २७५ वटा भएका छन् ।

प्रदेश प्रहरी के भन्छ ?
यता लुम्बिन प्रदेशको नेतृत्व गरेको लुम्बिनी प्रदेश प्रहरीले बलात्कारका घटना न्युनिकरणका लागि १२ वटै जिल्लाका जिल्ला प्रहरी र प्रहरी युनिटहरुले सचेतनामुलक कार्यक्रमहरु गरिरहेको बताएको छ ।

बलात्कारका अधिकांस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफन्तकै संलग्नता रहेकाले पनि यसको न्युनिकरणमा ठुलो समस्या आएको वरिष्ट प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । ‘पहिलो सुरक्षा अभिभावक नै हो । आफन्त नै हो ,’ प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले भने–‘ सुरक्षा दिने नै अपराध कर्ममा संलग्न रहेपछि कसको के लाग्यो र ?’
त्यहिपनि सकेसम्म अपराध नलुकाउन आग्रह गर्दै उनले न्याय नपाउँदासम्म आफन्तबाट पिडित भएकाहरुलाई सुरक्षीत राख्न सक्ने व्यवस्था राज्यले गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया