सबैलाई तिहार लाग्यो, हामीलाई खोला लाग्यो : सिडीयो

तुलसीपुर, २ मंसीर / दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनतालाई तिहार लागेका बेला आफुहरुलाई भने खोला लागेको बताएका छन् । गृहमन्त्रालयले दाङमा संचालित क्रसर उद्योगहरु दर्ता भएको या नभएको छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्तिक २५ गते निर्देशन दिएपछि खोला–खोलामा पुगेर क्रसर उद्योगको छानबिन गरेका प्रमुख जिल्ला अधिकारीले यस्तो प्रतिकृया दिएका हुन् ।

‘खोला–खोलामा पुगेर क्रसर उद्योगहरुको छानबिन गर्न लागेको आज तीन दिनभयो–‘प्रमुख जिल्ला अधिकारी आचार्यले भने–‘सबैलाई तिहार लागेको छ हामीलाई भने खोला लागेको छ ।’ अहिलेसम्म पश्चिम दाङ र घोराहीका आसपासका समेत गरेर ३० वटा क्रसर उद्योगको अनुगमण तथा निरीक्षण गरेको उनले जानकारी दिए ।

अब देउखुरीमा रहेका क्रसर उद्योगहरुको छानबिन गर्न बाँकी रहेको छ । दाङमा दर्ता भएका १२ वटा क्रसर उद्योग र ३२ वटा बालुवा प्रशोसन उद्योग छन् । अनुगमण टोलीमा जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, मालपोत तथा नापी, वन, घरेलु लगाएतका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया