चिठ्ठा प¥यो भन्दै ६३ हजार ठगी गरेको आरोपमा तिन जना पक्राउ

दाङ, २९ असोज । सामाजिक सञ्जाल इमो मार्फत चिठ्ठा प¥यो भन्दै ठगी गरेको आरोपमा तिन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।दाङको लमही नगरपालिका–५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा प¥यो भनेर गठी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका–६ मत्सरी बस्ने १८ बर्षीय सुमन झा, देवाही गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका–१६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । गत असोज २२ गतेका दिन पीडित महिलाले आफुलाई ठगी गरेको भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको डिएसपी खड्काले जानकारी दिएका छन् । उनीहरुले ठुलो धनराशीको प्रलोभन देखाई हिन्दीभाषाबाट कुरा गरी आई एम ई तथा विभिन्न व्यक्तिगत बैंक खाता मार्फत त्रिसठ्ठी हजार रुपैया रकम पठाउन लगाएको प्रहरीले बताएको छ । उक्त रकम पठाईसकेपछि पनि पुनः फोन, म्यासेज, भ्वाईकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफुहरु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएको बुझिएको डिएसपी खड्काले बताएका छन् ।

सोहि निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।पक्राउ परेका व्यक्तिहरुमाथी थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया