दाङमा प्रतिष्ठानका डाक्टर र नर्स विरुद्ध प्रहरीमा उजुरी

नवजात शिुको शव लिएर आएको एम्बुलेन्स

तुलसीपुर, २२ असोज / दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र नर्स विरुद्ध प्रहरीमा भवितव्य ज्यान मुद्दामा उजुरी परेको छ । अस्पतालमा सुत्केरी बनाउने क्रममा बुधबार दिउसो एक बजे नवजात शिशुको मृत्यु भएपछि बिर्ख बहादुर कामीले डाक्टर र नर्सका विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

घोराही उपमहानगरपालिका–१३ आनन्द टोल निबासी २७ बर्षकी गिता विक सुत्केरी बेथा लागेपछि सुरक्षित सुत्केरी सेवा लिन राप्ती विज्ञान प्रतिष्ठान घोराही आएकी थिइन् । ‘पहिला डाक्टर र नर्सले अप्रेसन गरेर बच्चा निकाल्नु पर्छ भन्ने कुरा गरे,’ सुत्केरी गिताका ससुरा बिर्खबहादुरले भने–‘पछि अपे्रसन नगरेर जबरजस्ती हातले निकाले त्यसपछि जन्मेको नातिको मृत्यु भयो ।’

बिर्खबहारले डाक्टर र नर्सका विरुद्ध उजुरी हालेपनि नाम भने खुलाएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले डाक्टर नर्सका विरुद्धमा भवितव्य ज्यान मुद्दामा उजुरी परेको पुष्टि गरे ।

अस्पतालले मानेन पोष्टमार्टम गर्न
यसैबिच राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले मृतक नवजात शिशुको पोष्टमार्टम नगर्ने जनाएको छ । विवादित केस भएकाले पोष्टमार्टम नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सर्वेश शर्माले बताए ।

‘डाक्टरलाई बचाउन अर्को डाक्टरले मारेको होइन मरेको हो भनेर भोली हंगामा मचिन्छ,’ मेसु शर्माले भने– ‘ पोष्टमार्टम गर्दैमा कसरी भन्न सकिन्छ मारेको होकी मरेको हो भनेर ?’

पोष्ट मार्टमका लागि विज्ञता हासील गरेको नेपालगंज या काठमान्डौको टिचिङमा लग्न सकिने मेसु शर्माले बताए । नवजात शिशुको शव दिउसो ४ बजे अस्पतालमा ल्याएपनि अस्पतालले पोष्टमार्ट गर्न नसकिने बताएपछि पिडितहरुले फर्काएर शव घोराही लगेका थिए ।

त्यहाँबाट प्रहरीले पुनः पोष्टमार्टम गर्नै पर्ने बताएपछि पिडितले शव ल्याएर पोष्टमार्टमा नगर्ने सर्तमा राति नौ बजे शव गृहमा शव राखेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया