सल्यानबाट अपहरणमा परेका भनिएका वडाध्यक्ष तुलसीपुरको होटलमा भेटिए

तुलसीपुर, १४ असोज/ सल्यानबाट अपहरणमा परेका भनिएका वडाध्यक्ष दाङको तुलसीपुर स्थित एक होटलमा फेला परेको प्रहरीले जानकारी दिएको छ । सारदा नगरपाालिका–१३ का वडाध्यक्ष तुलसीराम रावत ११ गतेदेखि सम्पर्क बिहीन भएपछि आफन्तले अपहरणमा परेको आसंकामा जिल्ला प्रहरी कार्यालय सल्यानमा खबर गरेका थिए ।

तुलसीपुर प्रहरीको सहयोगमा अध्यक्ष रावतलाई तुलसीपुरको सल्यान रोडमा रहेको दाजुभाइ मःम रेष्टुरेण्ट होटलबाट साँझ करिब ७ बजे फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाको नेतृत्वमा आएको प्रहरी टोलीले अध्यक्षलाई लिएर सल्यान तर्फ लगेको सिंहले बताए । वडाअध्यक्ष एकाएक गायब भएपछि सल्यान प्रहरीलाई चर्को दबाब परेको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दाको विषयलाई लिएर अपहरण गरेको हुन सक्ने भन्दै प्रहरीले खोजीकार्य तिब्र पारेको थियो । घटनाको बिषयमा थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । आर्थिक लेनदेनका कारण उनि लुकेर बसेको पनि अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया