ईप्रका तुलसीपुरको थुनुवा कक्ष पहिलो पटक खाली

तुलसीपुर, २५ भदौ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्ष पहिलो पटक खाली भएको छ । सधैजसो भरिभराउ हुने हिरासत खालीभएको हो । अपराधिक घटनाको दृष्टिकोणले अग्रपंक्तिमा रहेको पश्चिम दाङको तुलसीपुरको थुनुवा कक्ष पहिलो पटक खाली भएको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए ।

अपराधिक घटनामा कमी र कोभिड –१९ का कारण मुद्दाहरु छिटो फैसला हुनेभएकाले पनि हिरासत खाली हुने अवस्था आएको प्रहरीले जानकारी दिएको छ । दैनिक जसो विभिन्न मुद्दामा १५÷२० जना आउने र त्यति नै संख्यामा छुट्ने पनि गरेका थिए ।

‘दैनिक १५/२० जना विभिन्न मुद्दामा आउने गर्थे । करिब ४० वटा मुद्दा चलेको हुन्थ्यो,’ प्रहरी नायव उपरीक्षक सिंहले भने– ‘आजभोली म आएदेखि गुण्डागर्दी गर्नेहरुको पत्तासाप भएकाले पनि अपराधिक घटनामा कमी आयो र कोरोनाका कारण मुद्दा पनि छिटो फैसला भएकाले खाली भएको हो ।’

५० देखि ६० जनासम्म कहिल्यै पनि खाली नभएको हिरासत खाली हुँदा अचम्मित परेको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका सहित चारवटा स्थानीय तह क्षेत्र भित्र भएका हरेक खालका अपराधिक घटनाको मुद्दा तुलसीपुर प्रहरी मार्फत चल्दै आएको छ ।

स्थानीय नागरिकको सहयोग, बन्दबन्दी र प्रहरीको सकृयताले पनि अपराधिक घटनामा कमी भएकाले हिरासत खाली भएको अपराध अनुसन्धान शाखा प्रमुख डम्बरपालले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया