लागुऔषध कारोबारीलाई पक्राउ गर्न रुकुममा गोली चल्यो

दाङ, १० भदौ ।

रुकुम पश्चिममा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । मुसीकोट नगरपालिका ४ को ठाराढुङ्गामा मङ्गलबार बेलुका रुकुम–पूर्वको प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।

प्रहरीको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि गोली लागेका उनको जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते पुनसँगै त्यही वडाका ३५ वर्षीया लक्ष्मी पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २८ वर्षीय जयप्रकाश पुन भने भागेका छन् ।कन्ट्रोल डेलिभरीको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपातको प्रयास गरेकोले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए ।

उज्यालो अनलाईनबाट साभार

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया