बलात्कारको आरोपमा वडासचिव पक्राउ

 कैलाली, २१ साउन

भजनी नगरपालिका-४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीमा १८ साउनमा एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै चौधरीविरुद्ध उजुरी दिएपछि ती वडा सचिवलाई आज भजनी नगरपालिका-४ खैलाडबाट पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौधरीलाई जिल्ला ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयास गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको स्थानीयले बताएका छन्। ५ साउनमा घटना भएको भएपनि स्थानीय स्तरमै मिलाउने कार्यमा जनप्रतिनिधि नै नै संलग्न रहेको बताइएको छ।

महिलालाई इलाका प्रहरी कार्यालय भजनीमा मुद्दा दर्ता नगर्न दबाब दिएपछि उनले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो।

पक्राउ परेका चौधरी टीकापुर नगरपालिका-६ का स्थायी बासिन्दा हुन।

 

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया