कार्यालयमा लगाएको ताला जवरजस्ती खोलिएको प्रति आपत्ती

तुलसीपुर, १२ साउन ।

तुलसीपुर ७ मा रहेको धारापानी सामुदायिक बन समुहको कार्यालयमा लगाईएको ताला सहमति बिना खोलेको भन्दै ताला लगाउने पक्षले आपत्ती जनाएको छ । बन समुहमा भएको अनियमिताको छानविनको माग गदै त्यहाका केहि उपभोक्ताले गएको असार अन्तिम साता बन समुहको कार्यालयमा ताला लगाएका थिए । तर ताला लगाउने पक्षसंग वार्ता र छलफल गर्नुको साटो कुनै जानकारी नदिएर जवरजस्ती रुपमा ताला खोलिएको प्रति स्थानिय उपभोक्ता पिताम्वर आचार्यले आपत्ती जनाएका छन् ।

उनले यस विषयमा पत्रकार सम्मेलन गरेर अघि बढ्ने बताएका छन् । बन समुहका पदाधिकारीले अनियमितता गरेको विषयलाई सत्यतथ्य छानविनको माग गर्दा पदाधिकारीले वेवास्ता गरेकै कारण आफुहरु बाध्य भएर कार्यालयमा ताला लगाउनु परेको उनको भनाई छ । बन पत्ल्याउने नाममा भएको अनियमितता, कार्ययोजना विपरित रुख कटान गरेको, गैर उपभोक्तालाई काठ विक्रि गरेको लगाएत मुद्धा आफुहरुले उठाएको उनले बताएका छन् ।

यता वडा नम्वर ७ का वडा अध्यक्ष टोप बहादुर केसीले स्थानिय जनप्रतिनिधि संगै कुनै छलफल नगरी डिभिजन वन कार्यालय घोराहीमा उजुरी दिनु राम्रो पक्ष नभएको बताएका छन् ।यद्यपी वन कार्यालयले छानविन गरी प्रतिवेदन समेत सार्वजनिक गरेको अवस्थामा ताला लगाउनु उचित नभएको हुदा ताला खोलिएको उनको भनाई छ । जनप्रतिनिधि, बन समुहका पदाधिकारी, प्रहरीको उपस्थितिमा आईतवार ताला खोलिएको वडा अध्यक्ष केसीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया