रुकुम घटनामा फरार पाँच जना अभियुक्त कारागार चलान

दाङ, १ साउन ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाका फरार पाँच जना अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्। रुकुम जिल्ला अदालतले मंगलवार चार जनालाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश दिए पछि उनीहरु कारागार चलान भएका हुन् ।अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिका–८ का ३२ बर्षिय तुलराम घर्ती, क्वापे भनिने २७ बर्षिय लोकेन्द्र घर्ती, २२ बर्षिय सौरभ पुन र ३८ बर्षिय डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए । फरार अभियुक्त मध्ये भीमबहादुर घर्ती भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।उनीहरु कर्तव्य ज्यान मुद्धामा फरार भएका थिए ।
यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ। पक्राउ परेका मधये दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ भने तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना एक लाख रुपैया धरौटीमा छुटेका थिए।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका एक जना गरी ६ जनाको ज्यान गएको थियो ।यस अघि सोहि घटनाका अभियुक्त वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बुवा डिल्ली बहादुर मल्ल , तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र सर्वजित भन्ने सविन पुन लगाएतलाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया