महिला माथी कुटपिट गर्ने नगर प्रहरी निलम्वित

दाङ, २५ असार ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्वर ९ बस्ने नेहा विष्ट माथी नगर प्रहरी र नेपाल प्रहरीले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए संगै कारवाही प्रक्रिया अघि बढेको छ । घटना गएको जेठ १ गते भएता पनि कुटपिट गरेको भिडियो मंगलवार मात्रै सार्वजनिक भए पछि कारवाही प्रक्रिया अघि बढाईएको हो । नियन्त्रणमा आईसकेकी महिलालाई अमानविय तरिकाले निर्घात कुटपिट गर्न नहुने भन्दै नगरपालिकाका नगरप्रमुख गोरख बहादुर केसीले आफुहरुले विभागिय कारवाही प्रक्रिया सुरु गरेको बताएका छन् ।

कार्यालयका प्रशाशन अधिकृत मान बहादुर बुढाथोकीको नेतृत्वमा तिन सदस्यिय छानविन समिति गठन गरी कारवाही प्रक्रिया अघि बढाईएको उनले बताएका छन् । काम विशेषले आफु जिल्ला बाहिर भएकाले विहिवार कार्यालयमा उपस्थित भई कारवाही प्रक्रिया अघि बढाएको नगरप्रमुख केसीले बताएका छन् । नगरपालिकाको परिसरमा नगर प्रहरीकै संलग्नतामा घटना भएको बताउदै उनले नगर प्रहरी निर्मला विकलाई तत्काललाई सेवाबाट निलम्वन गरिएको जानकारी दिएका छन् । सार्वजनिक भएको भिडियोमा नगर प्रहरी विक र नेपाल प्रहरीले कुटपिट गरेको पाईएको हुदा कारवाही प्रक्रिया अगाडी बढाईएको उनले बताएका छन् ।

समितिलाई सामान्यतया एक हप्ताको समय दिईएको छ । नगरमा २१ जना नगरप्रहरी कार्यरत छन् । नगरपालिकामा २२ जना नगरप्रहरी भर्ना गरेता पनि एक जनाले छोडीसकेको नगरप्रमुख केसीले बताएका छन् । पिडित महिला भने अझै सम्पर्कमा नआएको नगरप्रमुख केसीले बताएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक कविराज रोकायको नेतृत्वमा बुधवार छानविन समिति गठन गरीसकेको छ । कार्यालयका सुचना अधिकारी समेत रहेका रोकायको नेतृत्वमा छानविन समिति गठन गरे संगै उक्त टोलीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख ठग बहादुर केसीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया