स्वच्छ वातावरण बनाउन सवै गम्भीर बनौँ

शिवु खनाल, देउखुरी, २४ असार । 
डिभिजन वन कार्यालय दाङ, देउखुरीले देउखुरी क्षेत्रमा वर्ष भरी गरिएको गतिविधि बारे जानकारी गराएको छ । बुधबार डिभिजन वन कार्यालय दाङ, देउखुरीले आयोजना गरेको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक प्रगति बारे डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख प्रविण विडारीले प्रस्तुत गर्नु भएको थियोे । आर्थिक प्रगती ७६ र भौतिक ८५ प्रतिशत भन्दा बढी सम्पन्न भएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीकाम सुचना अधिकृत प्रेमिलालप्रसाद शहाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला वन समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले वातावरणलाई कसरी संरक्षण गर्न सकिन्छ, त्यस तर्फ केन्द्री हुन आवश्यक रहेको बताउँदै, वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गर्दै, दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेको कुरामा जोड दिए ।डिभिजन वन कार्यालय दाङ, देउखुरी अन्तरगत भएका विकास निर्माणका कामहरु, वन संरक्षण तथा वन विकासका कार्यक्रमहरु सन्र्दभमा पर्यटन सम्बन्धी भौतिक पूर्वाधारका निर्माणका कामहरु गत वर्षभन्दा यस चालु आर्थिक वर्षको काम धेरै राम्रो र प्रगती भएको प्रदेश सांसद इन्द्रजित थारुले बताए । लकडाउनको समयमा पनि अन्य छिमेकी जिल्लाहरु भन्दा दाङ जिल्लामा सबैभन्दा बढि थप विकास निर्माणको काम भएको सांसद थारुको भनाइ छ ।
उनले भने ‘जे जती विकास निर्माणका कार्यहरु भएका छन्, यसमा उपभोक्तहरु जुन ठाउँमा सक्रिय भएका छन्, त्यो ठाउँमा काम राम्रो भएको छ र त्यसपछि उपभोक्ताहरु सक्रिय नभएको ठाउँमा काम राम्रो भएको छैन ।’ वन विकासको क्षेत्रमा पछिल्लो चरण दाङ जिल्लामा दुईवटा वन डिभिजन वन कार्यालय भए पश्चात् काठ चोरी निकासी पहिलेको भन्दा निकै कम भएको र त्यो प्रकारको परिणाम देखिदै आएको बताउँदै, जिल्ला डिभजन वन कार्यालय पहिलेको भन्दा अलि गम्भिरता पूर्वक अगाडि बढिरहेको महशुस भएको बताए । ‘स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।’
आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवर्द्धन गर्दै, सुन्दर भविष्य सुनिश्चित गर्न सबै एकजुट हुन आवश्यक रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए । जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न सबै गम्भीर भएर लाग्नुपर्ने उनको भनाई छ । यता राप्ती र गढवा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र सहजराज यादवले वन र स्थानीय तह विच समन्वय भएन भने कुनै पनि विकासको काम गर्न नसकिने तर्क राखे ।
सामुदायिक वन पुरस्कृत
डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले तिनवटा सामुदायिक वनलाई नगद सहित सम्मान गरेको छ । आर्थिक वर्ष ०७६÷०७७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तर्फको स्वीकृत वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट सामुदायिक वन उपभोक्त समिति पुरस्कार वितरण कार्यक्रम अन्तरगत वनको संरक्षण तथा व्यवस्थापन कार्यक्रममा शिवशक्ति बाख्रा विकास सामुदायिक वन उचानिम्बुलाई नगद ७ हजार, प्रगति सामुदायिक वन उपभोक्त समिति गढवालाई ५ हजार र त्रिशक्ति सामुदायिक वन उपभोक्त समिति राजपुरलाई नगद ३ हजार पुरस्कार सहित सम्मान गरिएको थियो ।।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया