सोती घटना : थुनछेक बहस सकियो, वडा अध्यक्ष सहित २३ जना कारागार चलान

दाङ, ११ असार ।
रुकुम पश्चिममा भएको सामुहिक हत्या घटनाको थुनछेक बहस बुधवार सकिएको छ । जिल्ला अदालतले सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पक्राउ परेका वडा अध्यक्ष डम्वर बहादुर मल्ल रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष हुन् । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो ।
पक्राउ परेकी युवतीकि आमा एक लाख धरौटीमा रिहा गर्न आदेश दिईएकोे छ । यस्तै सोहि घटनामा पक्राउ परेका तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् ।सोतीमा गएको जेठ १० गते प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ बर्षिय नवराज बिक सहित घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको मृत्यु भएको थियो । उनिहरुको कुटपिटबाट मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनामा संलग्न भएको भनिएका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।
पिडित पक्षले २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् भने घटनामा संलग्न रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैद देखि आजीवन कारावाससम्मको सजायको मागदावी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । घटनामा संलग्न आरोपमा पक्राउ परेका २९ जना मध्ये २ जना नाबालकलाई भने बालसुधार गृहमा पठाउन यसअघि नै अदालतले आदेश दिईसकेको थियो ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया