सवारी दुर्घटना न्युनीकरणमा सवै जिम्मेवार बनौँ

तुलसीपुर, १० असार ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले मादक पदार्थ सेवन गरी सवारी चलाउने जुनसुकै चालकलाई कारवाही गर्ने बताएका छन् । सवारी दुर्घटनाको हुनुको कारण मध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउनु पनि एक भएको बताउदै डिएसपी सिंहले मादक पदार्थ सेवन गर्ने चालकलाई अब देखी मुद्धा चलाईने चेतावनी दिएका छन् ।

बुधवार तुलसीपुरमा सम्पन्न भएको यातायात व्यवसायी सवारी चालक,सहचालक र परिचालक संग सवारी नियम कार्यन्वयन तथा अन्य समसामयिक विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । बन्दाबन्दीको समयमा पनि एक महिनाको अवधीमा तुलसीपुर क्षेत्रमा ४७ वटा सवारी दुर्घटना भएको बताउदै उनले चालकले अनिवार्य सवारी नियम पालना गर्नुपर्ने बताएका छन् । साथै उनले तुलसीपुर क्षेत्रमा लागु औषध दुव्र्यसनी, अपराधिक घटना र टोले गुण्डा नियन्त्रण तथा न्युनीकरण गरी शान्तीसुरक्षा कायम गर्ने बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगरपालिका कमिटिका अध्यक्ष केशब बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमालले सवारी दुर्घटना न्युनीकरणका लागी सवै जिम्मेवार हुनुपर्ने बताएका छन् । कुनै पनि सवारी दुर्घटना भवितव्यमा हुने भन्दै हमालले स्वंयम सवारी चालक र नागरिक जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सो अवसरमा नमस्ते नमस्ते राप्ती यातायात सेवा प्रालिका अध्यक्ष बामदेव खनाल, राप्ती यातायात सेवा प्रालिका संस्थापक विनोद शर्मा, नेपाल यातायात मजदुर संघ जिल्ला अध्यक्ष पदम बहादुर वलीले अहिलेको कोरोना माहामारीले गर्दा यातायात मजदुर र व्यवासायी समस्या परेको भन्दै राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

ईलाका प्रहरी कार्यालय तु्लसीपुरको आयोजना तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगरपालिका कमिटि र नेपाल यातायात मजदुर संघ तुलसीपुर कमिटिको सयुक्त समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा मजदुर संगठनका पाँच नम्वर प्रदेश सचिवालय सदस्य अमर डाँगी, खिमराज डाँगी, घनश्याम बस्नेत लगाएतले बसपार्कको सुरक्षा व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । नेपाल यातायात मजदुर संघ तुलसीपुर कमिटिका अध्यक्ष सुर्वणराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिका सचिव यज्ञ बहादुर बुढाथोकीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया