बगरलाई वन बनाउने अभियानको शुरुवात

हेमराज शर्मा

दाङ, जेठ २४ । डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियान शुरु गरेको छ । विश्व वातावरण दिवसको दिन पारेर दाङ धर्नाको नैनवार बगरमा बृक्षरोपण गरेर बगरलाई वन बनाउने अभियानको शुरुवात गरेको हो ।

बबई खोलाले कटान गरेर छाडेको १६ हेक्टर भन्दा बढी बगरलाई सामुदायिक वन बनाई स्थानीयले बृक्षरोपण गरेका हुन । नैनवार बगर सामुदायिक वन क्षेत्रमा शुक्रवार ६ सय बढी बिरुवा रोपण गरी यो बर्षका बगरलाई वन बनाउने अभियानको शरुवात गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । उक्त क्षेत्रमा सिसौ, सिमल, खयर, अमला लगायतका प्रजातीका बिरुवा लगाइएको थियो । लकडाउनका समयमा सामाजिक दुरी कायम गर्दै सयौ स्थानीयले बृक्षरोपण गरेका छन ।

यो बर्ष थप ४० हेक्टर बगरलाई वन बनाउने योजना

यो बर्ष थप ४० हेक्टर वगरलाई वन बनाउने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । बबइ नदि तथा अन्य नदिहरुले कटान गरेर छाडेको बगर क्षेत्रलाई बृक्षरोण गरी हरियाली बनाउने योजना अनुसार आफूहरुले काम गरिएको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए ।

गत बर्षदेखि थालिएको बगरलाई वन वनाउने अभियान अन्र्तगत बृक्षरोपण गरिएको करिव ४० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवा हुर्कदै गएकोपछि आफूहरु उत्साहित भएको भन्दै ज्ञवालीले यो बर्ष पनि त्यतिनै मात्रामा बृक्षरोपण गरिने बताए ।

बृक्षरोपणका लागि २ लाख बिरुवा तयार

यो बर्ष बृक्षरोणका लागि २ लाख बिरुवा तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ । पहाक्षी क्षेत्रमा टिमुर, मालागेडी लगायतका प्रजातिका बिरुवालाई बिशेष कार्यक्रम नै बनाएर रोप्ने कार्यक्रम रहेको छ ।

गाउमै बिधान र कार्ययोजना हस्तान्तरण

डिभिजन वन कार्यालय दाङले लकडाउनका कारण उपभोक्ताहरु कार्यालयसम्म आउन सक्ने अवस्था नरहेको भन्दै नैनवार बगर सामुदायिक वनको बिधान र कार्ययोजना गाउँमै पुगेर स्वीकृत तथा उपभोक्तालाई हस्तान्तरण पनि गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको नैनवारमा एक औपचारिक कार्यक्रम गरी डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वन समूहका अध्यक्ष रामबहादुर भण्डारी र सचिव टिका के.सी.लाई वनको विधान र कार्ययोजना हस्तान्तरण गरेका हुन् ।

१ सय ६८ घरधुरी रहेको उक्त सामुदायिक वनको १० बर्षे कार्ययोजना बनाई विधान र कार्ययोजना हस्तान्तरण गरिएको थियो । यसरी गाउँमै पुगेर उपभोक्ताहरुलाई सामुदायिक वन हस्तान्तरण गरिएको यो जिल्लाको पहिलो कार्यक्रम भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया