
दाङ , १९ बैशाख
रोल्पामा भएको बम विष्फोटमापरि ज्यान गुमाएका मृतकको शवलाई पोष्टमार्टमका लागी दाङको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराही पठाईएको छ । यस अघि तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाउने तयारी भएता पनि भगौलिक दृष्टिकोणले छिटो र छरितो लैजान सहजताका लागी भन्दै घोराही पठाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्र बहादुर गुरुङले जानकारी दिएका छन् । विहिवार बेलुका भएको बम विस्फोटनमा परी चार जना बालबालिकाको मृत्यु भएको थियो ।
जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा बम विस्फोटमा परी ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली , ५ वर्षीय विजय खत्री र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।उनीहरुको शवलाई पोष्टमार्टमका लागी दाङको घोराही पठाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उक्त घटना स्थलमा दुई वटा बम फेला परेको थियो ।
एउटा बम विस्फोट भएको र अर्को बम विस्फोट नभएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । विस्फोट नभएको बमलाई दाङबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको रोल्पा प्रहरीले बताएको छ । साथै शुक्रवार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी , प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र धानुक घटना स्थलमा पुगेर घटनाको विषयमा जानकारी लिएका छन् ।