राष्ट्रिय वनमा रुख काटेको आरोपमा यादव पक्राउ

शिवु खनाल

दाङ, वैशाख १२ / राष्ट्रिय वनमा सालका रुख काटेको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ निवासी कल्लु यादव पक्राउ परेका छन् । यादवलाई दाङ देउखुरी जिल्ला अदालतले अनुशन्धानका लागि पन्ध्र दिनको म्याद थप गरेको छ ।

यादवले बिहिवार उक्त जंगलबाट ३ सय २५ दशमलब ६७ क्युफिट सालको गोलिया काटेका थिए । यादवले ठुलो परिमाणमा साल जातको रुख काटेर गोलिया बनाई राखेको भन्ने सुचनाको आधारमा सब डिभिजन वन कार्यालय बेलाले स्थलगत अनुगमन गर्दा त्यति ठुलो मात्रामा काठ भेटाएपछि पक्राउ गरेको थियो ।

बरामद गरिएको ३ सय २५ दशमलब ६७ क्युफिट काठको ३ लाख २५ हजार ६ सय ७० रुपैया बिगो कायम गरिएको छ । त्यस्तै काटिएका रुखहरुको ठुटाको पनि मुल्यांकन गरिएको छ । ठुटाहरुको मुल्यांकन गर्दा ५ सय ४६ क्युफिट हुन पुगेको छ ।

उक्त ठुटाको ३ लाख ४२ हजार २ सय रुपैँया बिगो कायम गरिएको डिभिजन वन कार्यालय लमही देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया