भागबण्डा नमिल्दा चित्तल वनटोलिको कब्जामा

हेमराज शर्मा

घाेराही, ११ बैशाख  । डिभिजन वन कार्यालय दाङको टोलीले एउटा बन्यजन्तु चित्तलको जिवितै उद्धार गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नं १५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहिवार दिउँसो चित्तलको जिवितै उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

डिभिजनल प्रमुख ज्ञवालीका अनुसार नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्धार गरिएको हो ।

स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटिलखेटि मार्न लागेको भन्ने सुराकी पाएपछि डिभिजनल वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेर ल्याएको हाे ।

दुई गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल पक्राउ गरिएको घटना बाहिर आएको थियो ।

टोलीले चित्तललाई पक्रेर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो । उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखि औषधी उपचार शुरु गरिएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया