राप्तीपारीको वनबाट काठ तष्करहरुको गिरोह पक्राउ

सुमन केसी,देउखुरी १९ बैशाख ।
देउखुरी राप्तीपारीको राष्ट्रिय वनमा ईलाका प्रहरी कार्यालय गढवाले काठ तस्करहरुले काठ काटिरहेको पत्ता लगाएर आईतवार दिनभर छापा मारेको छ । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्ड तथा नेतृत्वमा लमही भालुवाङ कालाकाटे हँुदै गोवरडिहाको राष्ट्रिय वनमा गएको प्रहरी गस्ती टोलीले पेशेवर रुपमै काठ चोरीगर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले साबिक गोवरडिहा–८ भंैसीखुटीबाट आईतवार साँझ ५ बजे सालका चिरान घप्पु बोकेर ल्याउँदै गरेको अवस्थामा १९ थान घप्पु सहित आठजना अभियुक्तको गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा साविक गोवरडिहा–८ तथा हाल गढवा–३ सुपैला बस्ने कर्णबहादुर रावत, भिमलाल रावत, खिमबहादुर रावत, तिलकबहादुर रावत र खुमबहादुर रावत तथा साविक गंगापरस्पुर हाल गढवा–४ अजगढवा बस्ने सानु यादव, राजकुमार यादव र शिवकुमार यादव गरीं आठजना रहेका छन् ।

प्रहरीले काठ सहित अभियुक्तहरुलाई आईतवार साँझ ईलाका प्रहरी कार्यालय गढवामा ल्याएको र सोमवार ईलाका वन कार्यालय मार्फत सेक्टर वन कार्यालयलाई बुझाएको छ । बरामद गरिएको १९ थान घप्पुको नाप लगत १८ क्यूफिट रहेको ईलाका वन कार्यालयले जनाएको छ । प्रहरीद्धारा पक्राउ गरिएको काठ तथा आठजना अभियुक्तहरुलाई सोमवार नै जिल्ला वन कार्यालय घोराहीमा पठाईएको छ ।

वन कार्यालयले अनुसन्धान अधिकृत नियुक्त गरी थप अनुसन्धान गर्ने र पक्राउ भएका अभियुक्तहरुलाई वन ऐन बमोजिम बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा चलाईने बताएको छ । यस अघि पनि ईलाका प्रहरी कार्यलय गढवाले सुराकी र शंकाका आधारमा राप्तीपारीका सामुदायिक र राष्ट्रिय वनक्षेत्रहरुमा लगातार गोप्य गस्ती परिचालन गरिरहेको थियो भने एक महिना अघि राजपुरबाट लमहीतर्फ काठ ढुवानी गर्दै रहेको एक टे«याक्टर र दुईजना काठ तस्करी गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया