साग पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगर परिक्रमा गराइदै

 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि उनीहरुलाई काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिन लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार, अहिले बिहान ११ बजेबाट राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा कार्यक्रम सुरु हुँदैछ । नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

साग प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो ।

नागरिक अभिनन्दनका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित हुने देखिएको छ । तर ट्राफिक प्रहरी महाशाखाले भने सवारी आवागमन सहज पार्न सडकमा राखिएका डिभाइर हटाइसकिएकाले सवारी आवागमनमा कुनै असर नपर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया