४ स्वर्ण जित्दै गौरिकाले रचिन् अर्को इतिहास

काठमाडौ, २३ मंसीर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् ।
सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गरिन् । शिवांगीले निर्धारित दुरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।गौरिकाले आइतबार मात्रै एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् ।

सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए ।योसँगै गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।१३औँ सागमा गौरिकाको यो चौथौ स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् । योसँगै १३औँ सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया