एसईई कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं,७ फागुन ।
नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिने खेलाडीहरु लाई लक्षित गर्दै ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरी “ब्रमास्मी एसईई एक दिवसीय क्रिकेट प्रतियोगिता”आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ब्रमास्मी एसईई एक दिवसीय क्रिकेट प्रतियोगिता बैशाख अन्तिम साता काठमाडौंमा हुने जानकारी गराएको हो ।

प्रतियोगिताको लागि सोमबर ब्रमास्मी कलेज सँग मुख्यप्रायोजन सम्झौता भएको छ । सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरे । सम्झौता पछि ब्रमास्मीले ७ लाख ५० हजार रूपैया उपलब्ध गराउनेछ । यस्तै ब्रमास्मीले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीलाई पुर्ण देखि आंशिक छात्रवृत्ति उपलब्ध गराउने छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए । उनले प्रतियोगितामा क्षमताको आधारमा धेरै भन्दा धेरै खेलाडीको सहभागिता होस भन्ने उद्देश्यले प्रमुख ११ शहरमा ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।

प्रतियोगिताभन्दा अघि आयोजकले देशभरको ११ प्रमुख शहरमा ट्यालेन्ट आयोजना गर्ने छ । ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ गते सम्म सञ्चालन हुनेछ । ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा सञ्चलान हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट ५ देखि ७ खेलाडी छनोट हुनेछ । हरेक छनौट केन्द्रकाप्रमुखको संयोजकमा स्थानिय प्रशिक्षक एक जना र एक जना नेक्ससको प्रतिनिधि सहित ३ सदस्यीय छनौट समिति हुनेछ ।

लोकेश जोशी थनगढ़ी, दिपेन्द्र थापा कोहलपुर, रुद्र भण्डारी सुर्खेत, सन्जु क्षेत्री दाङ, सुनिल ढुंगाना बुटवल, बबिनकुवँर पोखरा, संघर्ष पौडेल चितवन, पंकज पाण्डे कलैया, आशिषश्रेष्ठ बिराटनगर हितेन श्रेष्ठ बितामोड र प्रबलगौतमलाई काठमाडौंको संयोजक चुनिएको छ ।

ट्यालेन्ट हन्ट बाट छनोट भएकाकरिव १०० जना खेलाडीलाई सम्मिलित गराई काठमाडौंमा एक साताको क्याम्पआयोजनाहुनेछ । उक्त क्याम्पबाट अन्तिम ४८ जना खेलाडी छनोट हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई अनिवार्य टिममा समावेश गरिनुपर्ने नेक्ससले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यानअफदिसिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य१० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया