एकैपटक चारवटा विश्व कीर्तिमान

चैत २० । केन्याकी धाविका जोइसिलाइन जेपकोस्गीले एउटै दौडको क्रममा चारवटा विश्व कीर्तिमान बनाएकी छन् । प्राग हाफ म्याराथनको उपाधि जित्ने क्रममा उनले चारवटा विश्वकीर्तिमान आफ्ना नाममा बनाएकी हुन् । २३ वर्षकी जेपकोस्गीले प्राग हाफ म्याराथनको दूरी एक घण्टा चार मिनेट ५२ सेकेण्डमा पूरा गरेर उपाधि जित्दै विश्व कीर्तिमान बनाएकी हुन् । उनले यो वर्षको सुरुमा पेरेस जेपचिरचिरले बनाएको कीर्तिमान भंग गरेकी हुन् । उनले हाफ म्याराथनको दूरी एक घण्टा पाँच मिनेट ६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

हाफ म्याराथनमा नयाँ कीर्तिमान बनाएकी केन्याकी जेपकोस्गीले १० किलोमिटर, १५ किलोमिटर र २० किलोमिटरमा पनि नयाँ कीर्तिमान बनाएकी छन् । उनले हाफ म्याराथनको क्रममा १० किलोमिटरको दूरी ३० मिनेट पाँच सेकेण्ड, १५ किलोमिटरको दूरी ४५ मिनेट ३७ सेकेण्ड र २० किलोमिटरको दूरी एक घण्टा एक मिनेट २५ सेकेण्डमा पूरा गरेकी हुन् । आफूले आफ्नो प्रदर्शन सुधार गर्न चाहेको तर त्यसक्रममा विश्व कीर्तिमान नै बन्दा आफू अचम्मित भएको उनले बताइन् ।

प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार
प्रतिक्रिया