दाङ, साउन १७ । राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल, दाङ जिल्ला समितिको बैठक विभिन्न निर्णय गर्दै हापुरमा सम्पन्न भएको छ । बैठकले जिल्लाभरका सबै खानेपानी उपभोक्ता संस्थाको तथ्यांक (डाटा) संकलन गर्ने, महासंघको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने, संस्थाहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने तथा खानेपानीको गुणस्तर सुधार र पारदर्शी व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्लाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाहरूबीच आपसी सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै उपभोक्तालाई गुणस्तरीय तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन साझा प्रतिबद्धता समेत जनाएको छ । बैठकलाई सम्बोधन गर्दैै प्रमुख अतिथि राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
दाङ जिल्ला समितिका अध्यक्ष तथा घोराही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष धुर्व केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन महासचिव बासुदेव गौतमले गर्नुभएको थियो ।
खानेपानीका सवालमा छलफल
यसैवीच अध्यक्ष वलीले नेपाल सरकार अर्थ समिति सदस्य तथा सासद सुशान्त वैदिकसंग पनि छलफल गर्नुभएको छ । खानेपानी माथि सरकारले लगाउँदै आएको आन्तरिक कर, विद्युत महशुल लगायतका विषयमा तुलसीपुरमा छलफल भएको अध्यक्ष वलीले तुलसीपुर खबरलाई जानकारी दिनुभयो ।





