काठमाडौं — नेपाली सेनाले संगठनभित्र उच्च तहमा व्यापक हेरफेर गर्दै २० जना सहायक रथी (एकतारे जर्नेल) र एक जना महासेनानीको सरुवा गरेको छ। सरुवा आजदेखि लागू हुनेगरी जंगी अड्डाले सूची सार्वजनिक गरेको हो। सरुवाअनुसार सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी मनोज बैदवार मध्य पश्चिम पृतना हेडक्वार्टर पुगेका छन् भने नेपाली सैनिक प्रतिष्ठानका प्रकाशबहादुर चन्द उत्तर पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएका छन्।
सैनिक इन्टेलिजेन्स निर्देशनालयका रामकाजी थापा पूर्वी पृतना हेडक्वार्टर पुगेका छन्। शान्ति कार्य निर्देशनालयका श्रवणकुमार विष्ट नेपाली सैनिक ब्याटल स्कुलको निमित्त शिक्षाधिकृत नियुक्त हुँदा नम्बर २७ वाहिनी अड्डाका नारायणबहादुर थापा सैनिक कल्याणकारी निर्देशनालयको निमित्त निर्देशक बनेका छन्।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा कार्यरत बालकृष्ण कार्की नेपाली सैनिक वार कलेज पुगेका छन् भने सोही सचिवालयका बबी चन्द सैनिक इन्टेलिजेन्स निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारीमा खटिएका छन्। यस्तै, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका सुरेश हमाल राष्ट्रिय सुरक्षा परिषद् सचिवालय पुगेका छन् भने सैनिक कमाण्ड तथा स्टाफ कलेजका दिलविक्रम सुब्बा नेपाली सैनिक प्रतिष्ठानको निमित्त शिक्षाधिकृत बनेका छन्।
विशेष फौज वाहिनीका दीपेन्द्र गुरुङ वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निमित्त केन्द्रपति बनेका छन्। अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका अनुपविक्रम राणा विशेष फौज वाहिनीको निमित्त वाहिनीपति नियुक्त भएका छन्। नम्बर २४ वाहिनी अड्डाका अर्जुन बस्नेत वीरेन्द्र अस्पतालको निमित्त प्रशासन रजिष्ट्रार बनेका छन् भने मध्यपूर्वी पृतना हेडक्वार्टरका विमलराज शर्मा उपत्यका पृतना हेडक्वार्टर पुगेका छन्।
त्यसैगरी नम्बर २ वाहिनी अड्डाका दिवाकरविक्रम राणा शान्ति कार्य निर्देशनालयको निमित्त निर्देशक बनेका छन्। नम्बर १८ वाहिनी अड्डाका विमलकुमार बस्नेत राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा भएका छन्। नेपाली सैनिक वार कलेजका अशोकबहादुर चन्द अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निमित्त निर्देशक बनेका छन् भने उत्तर पश्चिम पृतना हेडक्वार्टरका सञ्जयकुमार रञ्जित राष्ट्रिय सेवा दलको निमित्त निर्देशक नियुक्त भएका छन्।
सैनिक सचिव विभागको अतिरिक्त समूहमा रहेका उज्जल थापा नम्बर २७ वाहिनी अड्डाको निमित्त वाहिनीपति बनेका छन्। अतिरिक्त समूहबाट उपत्यका पृतना हेडक्वार्टरमा काजमा रहेका सुधिरप्रताप सिंह नम्बर २४ वाहिनी अड्डाको निमित्त वाहिनीपतिमा सरुवा भएका छन्।
यस्तै, वीरेन्द्र अस्पतालका हरिशबहादुर बम नम्बर २ वाहिनी अड्डाको निमित्त वाहिनीपति बनेका छन्। नम्बर ५ वाहिनी अड्डामा कार्यरत महासेनानी सूर्यबहादुर थापालाई निमित्त वाहिनीपतिको जिम्मेवारीसहित नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको छ। जंगी अड्डाले संगठनको आवश्यकता र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो सरुवा गरिएको जनाएको छ।






